सिन्धुलीगढीमा कृष्णविक्रम थापाको सालिक, ‘सुन्तलीमै’को सम्झना


काठमाडौं ।

सिन्धुली जिल्लालाई लोकगीतमार्फत देश–विदेशमा चिनाउन योगदान दिएका स्वर्गीय लोकगायक कृष्णविक्रम थापाको पूर्ण कदको सालिक सिन्धुलीगढीमा निर्माण गरिएको छ। कमलामाई नगरपालिकाले करिब १२ लाख ५० हजार रुपैयाँ लागतमा सालिक निर्माण गरी गायक थापालाई सम्मान गरेको हो।

‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमै
कत्तिमा राम्रो दरबार मार्‍यो नि मायाले मार्‍यो…’

थापाले वि.सं. २०३६ मा रेडियो नेपालबाट गाएको चर्चित लोकगीत ‘सुन्तलीमै’ मार्फत सिन्धुली र ऐतिहासिक सिन्धुलीगढीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनले ‘तोरी लाहुरे’, ‘खैँजडी भजन’ र ‘नेपाल रिमझिम’ लगायतका चर्चित गीत तथा एल्बमहरू सिर्जना गरेका थिए।

सिन्धुलीको तत्कालीन रतनचुरा गाविस (हाल गोलन्जोर गाउँपालिका) मा जन्मिएका थापाको करिब १५ वर्षअघि काठमाडौंस्थित वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। स्थानीय बुद्धिजीवी तथा नागरिक समाजको पहलपछि नगरपालिकाले उनको योगदानको सम्मानस्वरूप सालिक निर्माण गरेको हो।

यसैबीच, ऐतिहासिक सिन्धुलीगढी क्षेत्रको पुनर्निर्माणपछि यहाँ पर्यटकको आकर्षण बढेको छ। नेपाल एकीकरणका क्रममा वि.सं. १८२४ मा गोर्खाली सेनाले कप्तान किनलक नेतृत्वको अङ्ग्रेज फौजलाई पराजित गरेको ऐतिहासिक स्थलका रूपमा परिचित सिन्धुलीगढी अहिले अध्ययन, अनुसन्धान र भ्रमणका लागि प्रमुख गन्तव्य बनेको छ। गायक थापाको सालिक निर्माणसँगै सिन्धुलीगढीको सांस्कृतिक र ऐतिहासिक महत्व थप उजागर हुने अपेक्षा गरिएको छ।