चलचित्र ‘मास्टर्नी’को प्रचारात्मक गीत विवाद: प्रियंका कार्की र दुर्गेश थापाले मागे माफी


काठमाडौं ।

अभिनेत्री तथा चलचित्र निर्माता प्रियंका कार्कीले चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतलाई लिएर उत्पन्न विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सार्वजनिक रूपमा क्षमायाचना गरेकी छन्।

कार्कीले जारी गरेको विज्ञप्तिमा गायक दुर्गेश थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत चलचित्रभित्र समावेश गरिएको आधिकारिक गीत नभई प्रचारप्रसारका लागि मात्र तयार पारिएको स्पष्ट पारेकी छन्। उनका अनुसार उक्त गीत चलचित्रको कथावस्तुमा कतै पनि समावेश गरिएको छैन।

गीतमा प्रयोग भएका केही शब्द र दृश्यले शिक्षक–शिक्षिका पेसा तथा यससँग सम्बन्धित व्यक्तित्वहरूको गरिमामा आँच पुगेको भन्दै आएका गुनासोलाई आफूले अत्यन्त गम्भीर रूपमा लिएको उनले उल्लेख गरेकी छन्। कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा सम्मानित पेसा र व्यक्तित्वप्रति कुनै पनि प्रकारको नकारात्मक असर पार्ने उद्देश्य नरहेको भए पनि प्रस्तुतीका कारण अन्जानमै भावना आहत भएको स्वीकार गर्दै उनले व्यक्तिगत तथा आफ्नो सम्पूर्ण टिमका तर्फबाट हृदयदेखि नै क्षमायाचना व्यक्त गरेकी छन्।

पहिलो पटक चलचित्र निर्माणको यात्रामा रहेकी कार्कीले कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्‍याउने मनसाय कहिल्यै नरहेको र भविष्यमा पनि त्यस्तो नहुने प्रतिबद्धता जनाएकी छन्। साथै, नेपाल शिक्षक महासंघ, सम्पूर्ण शिक्षक–शिक्षिका तथा यस घटनाबाट आहत भएका दर्शकहरूप्रति सम्मान व्यक्त गर्दै माफी मागेकी छन्।

विवादपछि सम्बन्धित प्रचारात्मक गीत दुर्गेश थापाको युट्युब च्यानलबाट स्थायी रूपमा हटाइएको र आफ्ना सम्पूर्ण सामाजिक सञ्जालबाट पनि उक्त गीतका अंश हटाइसकिएको जानकारी कार्कीले दिएकी छन्। साथै, प्राप्त सुझाव र आलोचनालाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी दिनमा सिर्जना र विषयवस्तुको छनोटमा अझ संवेदनशील, जिम्मेवार र सचेत रहने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।

कार्कीले आफ्नो कलाकारिता यात्रामा दर्शकबाट प्राप्त माया, साथ र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र मार्गदर्शनको अपेक्षा गरेकी छन्।

यस्तै दुर्गेश थापाले पनि विज्ञप्ति जारी गर्दै माफी मागेका छन्।