जंगली हात्ती ध्रुवेकाे दाह्रा काटियो, रेडियो जोडियो

376
Shares

नवलपरासी। 

चितवन राष्ट्रिय निकुञ्जमा रहेर स्थानीय मानिसहरूकाे जिउज्यान समेत लिँदै आएको हिंश्रक हात्ती ध्रुवेकाे दाह्रा काटेर,घाँटीमा रेडियो कलर जोडिएकाे छ ।
जंगली हात्ती ध्रुवेलाई नियन्त्रण लिएर उसकाे घाँटीमा सेटलाईट प्रविधिमा आधारित नयाँ कलर जडान गरिएको निकुञ्जका संरक्षक एवं सुचना अधिकारी अविनाश थापा मगरले बताए ।

गत असार २० गते धुर्वे हात्तीले रातकाे समयमा भरतपुर २३ वेलहट्टा स्थित निकुञ्ज छेउकाे बस्ती पुगेर घरमा सुतीरहेकी २५ वर्षीय आशिका र उनका नाबालक छाेरा भरत बाेटेलाई आक्रमण गरी मारेपछि स्थानीयले उक्त हात्तीलाई नियन्त्रणमा लिन निकुञ्ज प्रशासनसंग माग गरेका थिए ।

स्थानीयकाे माग बमाेजिम निकुञ्ज प्रशासनले पछिल्लो घटना घटे लगत्तै धुर्बेलाई नियन्त्रणमा लिई उसकाे हिंश्रक व्यवहार राेक्न दाह्रा काट्ने तथा दैनिक गतिविधि थाहा पाउन रेडियो कलर जोड्ने याेजना बनाएकाे थियो ।

यस अघि पटक पटककाे नियन्त्रण प्रयासबाट बच्दै आएको जंगली हात्ती धुर्वेलाई नियन्त्रणमा लिन सहज नहुने ठानेरै उसलाई समात्न निकुञ्ज प्रशासनले विभिन्न रणनीति बनाउँदै पनि आएको थियो  । 

जसका लागि निकुञ्ज प्रशासन कसराले आवश्यक विज्ञ प्राविधिक र सुरक्षा व्यवस्था सहितकाे टाेलीलाई यहाँकाे साैराहा,कसरा,टाईगरटप्स,सुखिभार,खाेरिया लगायत मुख्य मुख्य जंगल क्षेत्रमा तैनाथ राख्दा पनि ध्रुवे फेला परेकाे थिएन् ।

दर्जनाैं मानिसलाई आक्रमण र जनधजकाे क्षति गरी  सकेकाे जंगली हात्ती धुर्वे बुधबार साँझ सुखिभार पोस्ट स्थित निकुञ्जको हात्तीसारमा टुप्लुक्क देखिए पछि उसलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हाे ।

सुरूमा डार्ट गनबाट लठ्याउने ओैंषधी दिदा कराउदै भागेकाे ध्रुबे केही परकाे जंगल तर्फ लागे पछि बेहाेस पार्ने ओैषधीकाे सहयाेगमा उसलाई पूर्ण नियन्त्रणमा लिई दाह्रा काट्ने,स्याटलाईट कलर जोड्ने काम सम्पन्न गरी  उसलाई पुनः होसमा ल्याउने ओषधी दिँदासम्म रातिको झन्डै साँढे दस बजेकाे बताइएको छ ।
ध्रुवेलाई नियन्त्रणमा लिई उसकाे जिउमा स्याटलाइट कलर जडेसंगै उसका नियमित गतिबिधि र जियाेफेन्सिङ्ग सहित हात्तीकाे विचरणबारे थाहा हुने हुँदा निकुञ्जको यस किसिमकाे संरक्षण प्रयास मानव हात्ती द्वन्द्व व्यवस्थापनमा सहायक हुने निकुञ्ज प्रशासनले अपेक्षा राखेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय धुर्वे,राेनाल्डाे,गाेविन्दगज लगायत करिव ५ दर्जन जंगली हात्ती रहेकाे अनुमान गरिएको छ ।
दुर्लभ एकसिंगे गैंडा,पाटेबाघ,घडियाल गाेही,काँठे भालु,बाह्रसिंगा,गाैरीगाई,लगुना,जरायाे लगायतका वन्यजन्तुकाे प्रमुख वासस्थान मानिने चितवन राष्ट्रिय निकुञ्जमा देखिदै आएका जंगली हात्ती मध्ये नाना र मकुना भने विविध कारणबस मरिसकेका छन् ।

जंगली जनावरहरूमा हाल साैराहा केन्द्रित राेनाल्डाे र झन्डै एक दशक गुपचुप रहेर पहिले र हालै हिंश्रक रूप देखाउने धुर्वे हात्ती नै निकुञ्ज वरपरकाे स्थानीय क्षेत्रमा डर र त्रासकाे कारक बनेका छन् ।