ललितपुर ।
लागुऔषध मुद्दामा कैद सजाय भुक्तान गरी कारागारबाट छुटेको केही महिनामै पुनः लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुरबाट एक युवकलाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–१ कुपण्डोलबाट प्रहरीले २९ वर्षीय प्रज्वल केसीलाई ११० ग्राम ३५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । उनी यसअघि पनि खैरो हेरोइनसहित पक्राउ परी कारागार सजाय भुक्तान गरेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
लागुऔषध मुद्दामा पक्राउ परी कारागारबाट छुटेपछि पुनः कारोबारमा संलग्न हुन सक्ने व्यक्तिमाथि निगरानी गर्ने क्रममा केसीलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
ब्यूरोबाट खटिएको प्रहरी टोलीले शनिबार कुपण्डोलस्थित उनको घरबाट खैरो हेरोइनसहित पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट लागुऔषध तौल गर्न प्रयोग हुने डिजिटल तराजु एक थान र विभिन्न सिमकार्ड प्रयोग गरिएका पाँच थान मोबाइल फोनसमेत बरामद गरेको छ ।
प्रहरीका अनुसार केसीले पक्राउबाट बच्न र लागुऔषध खरिद गर्न आउने ग्राहकको पहिचान गर्न कुपण्डोलस्थित घरमा सुरक्षा व्यवस्था कडा बनाएका थिए । घरमा चारवटा सीसीटीभी क्यामेरा, दुईवटा कुकुर राख्नुका साथै लागुऔषध कारोबार हुने बेडरुमसम्म पुग्ने बाटोमा तीनवटा फलामे गेटसमेत राखेको अनुसन्धानबाट खुलेको छ ।
पहिले पनि हेरोइनसहित पक्राउ
प्रहरी अभिलेखअनुसार केसी यसअघि २०७९ जेठ २७ गते २ ग्राम खैरो हेरोइनसहित ललितपुर प्रहरी परिसरबाट पक्राउ परेका थिए । त्यसपछि उनी २०७९ भदौ २ गतेदेखि २०८० असार १ गतेसम्म नख्खु कारागारमा रहेका थिए ।
नख्खु कारागारबाट उनलाई पछि भीमफेदी कारागार स्थानान्तरण गरिएको थियो । उनले २०८२ चैत १९ गते कारागारबाट छुटेका थिए ।
कारागारबाट छुटेको करिब पाँच महिनामै उनी पुनः ठूलो परिमाणको खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।
कारागारभित्रै बनेको थियो सम्पर्क
प्रहरीको प्रारम्भिक अनुसन्धानमा केसीले कारागारमा रहँदाकै समयमा लागुऔषध कारोबारसँग सम्बन्धित व्यक्तिसँग सम्पर्क बनाएको खुलेको छ ।
प्रहरीका अनुसार कारागारभित्रै रहेका एक साथीसँगको माध्यमबाट उनले विराटनगरमा बसेर लागुऔषध आपूर्ति गर्ने व्यक्तिसँग सम्पर्क गरी लागुऔषध खरिद गर्दै आएको खुलेको छ ।
पक्राउ परेका केसीमाथि बरामद लागुऔषधको स्रोत, आपूर्ति गर्ने व्यक्ति, कारोबारको सञ्जाल तथा अन्य संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पछिल्लो समय कारागारबाट सजाय भुक्तान गरी छुटेका र पुनः लागुऔषध कारोबारमा संलग्न हुन सक्ने व्यक्तिमाथि निगरानी बढाएको जनाएको छ।











प्रतिक्रिया