धादिङ ।
बा प्र ०१–००६६ ख ८६१६ नम्बरको ईभी हाइसका चालक सिद्धलेक गाउँपालिका–३ निवासी ५० वर्षीय मीननारायण श्रेष्ठ सदा झैँ शनिवार धादिङबेसीबाट चैलिङतर्फ रिजर्भका लागि निस्कनुभयो ।
साधारण अवस्थामा हुनुभएका चालक श्रेष्ठले १८ जना कानुन व्यवसायी लिएर नेपाल बार एसोसिएसन धादिङको साधारण सभामा सहभागी हुन बेनिघाट रोराङ गाउँपालिका–८ स्थित चैलिङ सामुदायिक होमस्टेतर्फ जानुभएको हाे ।
चैलिङ नजिक बिदाङ पुगेपछि चालक श्रेष्ठले हाेमस्टे तर्फकाे बाटाे साेधे सहज छ जान्छ भनेपछि अगाडि बढे । ५० मिटरजति अघि बढेपछि आफूलाई असहज महसुस गरेपछि तत्काल सवारी रोके ।
सोही सवारी साधनमा हुनुभएका धादिङ वार एसाेसिएसनका अध्यक्ष टंककुमार श्रेष्ठले के भयो भनेर साेधे । चालककाे मुन्टो सिटबाट लत्रियो । सबै मिले चालक सिटबाट बाहिर राखियो ।
स्थानीय स्वास्थ्य चाैकीमा खवर भयो स्वास्थ्यकर्मी आए । बिदाङ बजारका नागरिक र वकिलहरुले आफूले जानेकाे खुट्टा माथि लगेर रगेडे । कुनै प्रभाव भएन । स्वास्थ्यकर्मी आएपछि कृत्रिम स्वासका लागि छातीमा थिचेर बचाउने काेसिस गरियाे । यति गर्दागर्दै एम्बुलेन आयाे । त्यसपछि छिटाे अस्पताल पुर्याइयाे । डाक्टरले मृत्यु भएकाे घोषणा गरे ।
आफू मरेर पनि १८ जना कानुन व्यवसायी बचाएका चालकलाई बिदाइ गर्दै धादिङका नुन व्यवसायी स्तब्ध भए । सबैका आँखा रसाए । र श्रद्धाञ्जली व्यक्त गरे ।
चालकले समयमै सवारी नरोकेको भए सम्भावित ठूलो दुर्घटना हुन सक्थ्यो। सवारी दुर्घटनामा हुने अवस्थाबाट बचाएर आफू सकिएका चालक श्रेष्ठको मृत्युले धादिङ नै शोकमा परेको छ ।
चालक श्रेष्ठलाई हृदयघात भएको प्रारम्भिक जानकारी छ। चलिरहेको सवारीसाधनमा चालकलाई अचानक हृदयघात भएको अवस्थामा नियन्त्रण गुमेर ठूलो दुर्घटना हुन सक्ने जोखिम थियो। तर, आफूलाई असहज महसुस गर्ने बित्तिकै श्रेष्ठले हाइस रोकेका कारण १८ जना कानुन व्यवसायी भने सकुशल रहे।
आफ्नो ज्यानभन्दा यात्रुको सुरक्षालाई प्राथमिकता दिएका श्रेष्ठको अन्तिम निर्णयले सम्भावित ठूलो मानवीय क्षति टारेको कानुन व्यवसायी दिनेश दुवाडीले बताउनुभयाे ।
जुन स्टेरिङ समातेर श्रेष्ठ १८ जना कानुन व्यवसायीलाई सुरक्षित रूपमा गन्तव्यतर्फ लैजाँदै थिए, त्यही स्टेरिङमै उनको जीवनयात्रा सधैँका लागि रोकियो।
श्रेष्ठले अन्तिम क्षणसम्म आफ्नो जिम्मेवारी निभाउँदै आफूलाई असहज महसुस गर्ने बित्तिकै सवारी रोके। अरूलाई सुरक्षित गन्तव्यसम्म पुर्याउने जिम्मेवारी पूरा गरेका उनी भने आफ्नो गन्तव्यमा पुग्न सकेनन्।
यस घटनाले चालकको स्वास्थ्य अवस्था, सवारी चलाउँदा देखिने आकस्मिक स्वास्थ्य समस्या र यात्रुको सुरक्षामा चालकको तत्काल निर्णयको महत्त्वसमेत उजागर गरेको छ।
नेपाल बार एसोसिएसन धादिङका कानुन व्यवसायी तथा शुभेच्छुकहरूले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनको निधनले परिवार तथा आफन्तजनमा अपूरणीय क्षति पुगेको भन्दै उनीहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
उक्त ईभी हाइसमा टंककुमार श्रेष्ठ, रामचन्द्र भट्ट, रामकृष्ण अधिकारी, खिल गिरी, विश्वराज अधिकारी, गोपी अर्याल, अम्बिका घिमिरे, दिनेश दुवाडी, विनोदमान श्रेष्ठ, पुष्पविक्रम मल्ल, विष्णुकुमार श्रेष्ठ, दीपक सेन, मेघनाथ दुवाडी, कुलमान विक, कृष्णराज अधिकारी, मञ्जु बस्नेत, रविना पौडेल र शोभा श्रेष्ठ सवार थिए।











प्रतिक्रिया