बाढीले बगाएर छोराको मृत्यु, पिडा सहन नसकेर आमाले गरिन् आत्महत्या 

24.16k
Shares

इलाम। 

इलामको माइजोगमाई गाउँपालिका–२ मा एकैदिन आमा–छोराको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ । विद्यालयबाट घर फर्किरहेका १२ वर्षीय आहान खत्रीलाई सोमबार (साउन १८ गते ) साँझ बाढीले बगाएर ज्यान लिएपछि छोराको मृत्युको पीडा सहन नसकेर उनकी आमा अमृता लेप्चा खत्रीले आत्महत्या गरेकी छिन् ।

 जिल्ला प्रहरी कार्यालय इलामका अनुसार जोगमाई भ्याली बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत आहान विद्यालयबाट घर फर्किरहेका बेला स्थानीय बजुर खोल्सोमा आएको आकस्मिक बाढीले बगाएको थियो । भीषण वर्षापछि उर्लिएको बाढीले उनलाई बगाएर निकै तल जोगमाई खोलासँग मिसिने स्थाननजिक पु¥याएको थियो ।

 सामान्य अवस्थामा स्थानीयले पैदल तर्ने खोल्सो सोमबारको वर्षापछि एकाएक उर्लिएको स्थानीय बताउँछन् । आहान दाङ घर भएका अनिल खत्रीका छोरा हुन् । उनी आफ्नी आमा अमृता लेप्चा खत्रीसँग माइजोगमाई–२ स्थित मावलीघरमा बस्दै आएका थिए भने उनका बुबा वैदेशिक रोजगारीमा रहेका छन् । छोराको मृत्युको घटनापछि करिब ३५–३६ वर्षीया अमृता लेप्चा खत्री पनि घरनजिकै झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । 

एकै दिन आमा–छोराको मृत्यु भएपछि माइजोगमाई गाउँ शोकमा डुबेको छ । विद्यालयबाट घर फर्कने क्रममा भएको दुर्घटनाले एउटा बालकको जीवन मात्र होइन, एउटी आमाको सपना र एउटा परिवारको भविष्य पनि सधैंका लागि समाप्त भएको स्थानीयले बताएका छन् । प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । माइजोगमाईमा निभेको यो आमा–छोराको जीवनले एउटा परिवार मात्र होइन, सिंगो गाउँलाई रुवाएको छ ।