छोरी बचाउन चितुवासँग पाँच मिनेट भिडिन् आमा


काठमाडौं ।

भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा एक आमाले आफ्नी सानी छोरीको ज्यान जोगाउन चितुवासँग पाँच मिनेटसम्म साहसिक संघर्ष गरेकी छन्। घटनामा आमा घाइते भएकी भए पनि चितुवालाई भगाएर छोरीको ज्यान बचाउन सफल भएकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार घटना बिहीबार राति कतरनियाघाट वन्यजन्तु डिभिजनअन्तर्गत सुजौली रेन्जको धनिया बेली गाउँमा भएको हो।

जयप्रकाशकी २६ वर्षीया श्रीमती लाली देवी आफ्नी सानी छोरीसँग घरमा सुतिरहेको बेला चितुवा घरभित्र पसेर उनीमाथि आक्रमण गरेको बताइएको छ। आक्रमणपछि लाली देवीले आफ्नो र छोरीको ज्यान जोगाउन चितुवासँग करिब पाँच मिनेटसम्म प्रतिरोध गरिन्।

उनको चिच्याहट सुनेर परिवारका अन्य सदस्यहरू घटनास्थलमा पुगेपछि चितुवा जंगलतर्फ भागेको जनाइएको छ।

आक्रमणमा घाइते भएकी लाली देवीलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घटनापछि वन विभागको टोली घटनास्थलमा पुगेर निरीक्षण गर्नुका साथै चितुवाको खोजी सुरु गरेको छ। वन अधिकारीहरूले घाइते परिवारलाई तत्काल राहतस्वरूप तीन हजार भारतीय रुपैयाँ उपलब्ध गराएको पनि जनाइएको छ।

वन विभागले उक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई विशेष सतर्कता अपनाउन, राति एक्लै बाहिर ननिस्कन तथा जंगली जनावर देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।

यसअघि पनि यस्तै घटना

कतरनियाघाट क्षेत्रमा यसअघि पनि चितुवाको आक्रमणका घटना सार्वजनिक भएका थिए। गत मे महिनामा पनि तेलियानपुरवा गाउँमा एक आमाले आफ्नो ६ वर्षीय छोरालाई चितुवाको आक्रमणबाट जोगाउन जोखिमपूर्ण संघर्ष गरेकी थिइन्।

त्यतिबेला मीना देवी आफ्नो छोरासँग सडकछेउमा बसिरहेका बेला उखुबारीबाट निस्किएको चितुवाले बालकमाथि आक्रमण गरेको थियो। मीना देवीले तत्काल चितुवासँग जुधेर छोराको ज्यान बचाएकी थिइन्। उक्त घटनामा उनी घाइते भएकी थिइन् भने उनका छोराले सामान्य चोट मात्रै बेहोरेका थिए। -बीबीसीबाट