देउवा–ओली सहमति कार्यान्वयन गर्न खोज्दा तीन दलको संयुक्त सरकारको प्रस्ताव आयो, काँग्रेसले मानेन : गगन थापा


काठमाडौँ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सातवटै प्रदेशमा काँग्रेस, नेकपा (एमाले) र नेकपा मिलेर संयुक्त सरकार गठन गर्ने प्रस्ताव आफूहरूले अस्वीकार गरेको बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले प्रदेश सरकारको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै यस्तो बताएका हुन् ।

थापाका अनुसार तत्कालीन काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्षबीच भएको सहमतिअनुसार निश्चित समयपछि काँग्रेस नेतृत्वमा रहेका प्रदेशमा एमाले र एमाले नेतृत्वमा रहेका प्रदेशमा काँग्रेसले नेतृत्व गर्ने समझदारी भएको थियो। उक्त सहमति कार्यान्वयनका लागि छलफल अघि बढाउँदा तीन दल मिलेर प्रदेश सरकार गठन गर्ने प्रस्ताव आएको उनले बताए।

तर प्रदेशमा प्रतिपक्ष नै नरहने गरी काँग्रेस, एमाले र नेकपा सहभागी संयुक्त सरकार बनाउने प्रस्ताव लोकतान्त्रिक अभ्यास, संघीयता र पार्टीको राजनीतिक भूमिकाका दृष्टिले उपयुक्त नभएको भन्दै अस्वीकार गरिएको थापाको भनाइ छ।

‘हामी नेकपा (एमाले)सँग सातवटै प्रदेशका विषयमा एउटा समझदारीमा थियौँ। तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्षबीच सरकार गठनका क्रममा निश्चित समयपछि काँग्रेस नेतृत्वमा रहेको ठाउँमा एमाले र एमाले नेतृत्वमा रहेको ठाउँमा काँग्रेसले नेतृत्व गर्ने सहमति भएको थियो,’ थापाले भने।

उनले सोही समझदारीअनुसार अघि बढ्ने विषयमा छलफल भएको तर त्यस क्रममा सबै प्रदेशमा काँग्रेस, एमाले र नेकपा सहभागी भएर संयुक्त सरकार गठन गर्ने प्रस्ताव आएको बताए।

‘प्रदेशमा प्रतिपक्ष नै नराखी तीनवटा पार्टी मिलेर सरकार बनाउने कुरा उचित हुँदैन। यो पार्टी, संघीयता र लोकतन्त्रका लागि पनि ठीक छैन,’ थापाले स्पष्ट पारे।

प्रदेश सरकारसम्बन्धी छलफलको नेतृत्व काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गर्नुभएको जानकारी पनि थापाले दिए। उनले मधेस प्रदेशमा भने विशिष्ट अवस्थाका कारण काँग्रेस, एमाले र नेकपा सम्मिलित संयुक्त सरकार रहेको उल्लेख गरे।

सभापति थापाले संघीय सरकारमा पार्टीको भूमिका तथा प्रतिपक्षमा रहेका प्रदेश सरकारमा काँग्रेसले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा समेत थप छलफल आवश्यक रहेको बताए।