इलाम ।
इलामको माइजोगमाई गाउँपालिका–२ मा एकै दिन आमा–छोराको मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ । विद्यालयबाट घर फर्किरहेका १२ वर्षीय आहान खत्रीलाई सोमवार साँझ आएको आकस्मिक बाढीले बगाएर ज्यान लिएपछि छोराको वियोग सहन नसकेर उनकी आमा अमृता लेप्चा खत्रीले पनि आत्महत्या गर्नुभएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार जोगमाई भ्याली बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत आहान साउन १८ गते विद्यालयबाट घर फर्किने क्रममा स्थानीय बजुर खोल्सामा एक्कासि आएको बाढीमा परेका थिए । भीषण वर्षापछि उर्लिएको बाढीले उनलाई बगाएर जोगमाई खोलासँग मिसिने स्थाननजिक पु¥याएको थियो । सामान्य अवस्थामा स्थानीयले सहजै पैदल वारपार गर्ने खोल्सो वर्षापछि अचानक जोखिमपूर्ण बनेको स्थानीयवासीले बताएका छन् ।
आहान दाङ घर भएका अनिल खत्रीका छोरा हुन् । उनी आमा अमृता लेप्चा खत्रीसँग माइजोगमाई–२ स्थित मावलीघरमा बस्दै आएका थिए भने उनका बुबा वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन् । छोराको असामयिक मृत्युको पीडा सहन नसकेकी करिब ३५–३६ वर्षीया अमृता घरनजिकै झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
एकै दिन आमा–छोराको जीवन अन्त्य भएपछि माइजोगमाई गाउँ शोकमग्न बनेको छ । विद्यालयबाट घर फर्कने क्रममा भएको यो दुर्घटनाले एउटा बालकको उज्यालो भविष्य मात्र होइन, एउटी आमाको जीवन र एउटा परिवारको आशा पनि सधैँका लागि समाप्त भएको भन्दै स्थानीयवासी भावुक बनेका छन् । माइजोगमाईमा निभेको यो आमा–छोराको जीवनले एउटा परिवार मात्र होइन, सिंगो गाउँलाई रुवाएको छ ।
प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।











प्रतिक्रिया