रियालिटी शो ‘लक अप’ को फिनाले सप्ताहमा डबल एलिमिनेसनअघि मोडल तथा रियालिटी टिभी स्टार आकांक्षा चौधरीले आफ्नो जीवनसँग जोडिएको पीडादायी अनुभव सार्वजनिक गरेकी छन्। उनले ब्यूटी पेजेन्ट उद्योगसँग सम्बन्धित एक प्रभावशाली व्यक्तिले आर्थिक सहयोगको सट्टा आफूलाई यौन सम्बन्ध राख्न प्रस्ताव गरेको दाबी गरेकी हुन्। उनको खुलासापछि शोका सहभागी र होस्टहरू भावुक बनेका थिए।
आकांक्षाका अनुसार उनी एक ब्यूटी पेजेन्टमा सहभागी हुन चाहन्थिन्। प्रतियोगिताको तयारी, पोसाक र प्रशिक्षणका लागि करिब एकदेखि दुई लाख रुपैयाँ आवश्यक पर्ने भए पनि परिवारको आर्थिक अवस्था कमजोर भएकाले खर्च जुटाउन सकेकी थिइनन्। त्यसपछि उनले यसअघि पनि धेरै प्रतियोगीलाई आर्थिक सहयोग गर्दै आएका र विभिन्न पेजेन्टमा निर्णायकको भूमिकामा रहेका एक व्यक्तिसँग सहयोग मागेकी थिइन्।
उनले सहयोगको अपेक्षामा ती व्यक्तिको घर पुगेको तर सुरुमा सामान्य देखिएको भेटघाट पछि अप्रिय मोडमा पुगेको बताइन्। आकांक्षाले आरोप लगाउँदै भनिन्, ती व्यक्तिले आफूलाई जबर्जस्ती समात्ने र अनुचित रूपमा छुन खोजेका थिए। आफूले प्रतिरोध गरेपछि उनले आर्थिक सहयोगका साथै मनोरञ्जन क्षेत्रमा काम दिलाइदिने सर्तमा यौन सम्बन्ध राख्न प्रस्ताव गरेको आकांक्षाको दाबी छ।
उनका अनुसार ती व्यक्तिले आफूले भनेको कुरा पहिले नै स्वीकारेको भए अहिलेसम्म धेरै ठूला परियोजनामा अवसर पाइसक्ने दाबीसमेत गरेका थिए। निश्चित अवधिसम्म पटक–पटक यौन सम्बन्ध राख्नुपर्ने सर्त राखिएको पनि आकांक्षाले बताइन्। तर आफूले उक्त प्रस्ताव तत्काल अस्वीकार गरेको र त्यस्तो नियत भएको थाहा भएको भए कहिल्यै सहयोग माग्न नजाने बताएको उनले सुनाइन्।
आकांक्षाले प्रस्ताव अस्वीकार गरेपछि ती व्यक्तिले मनोरञ्जन क्षेत्रमा अघि बढ्न यस्ता सम्झौता गर्नैपर्ने भन्दै निरुत्साहित गर्न खोजेको दाबी पनि गरिन्। तर आफूले कुनै गलत सम्झौता नगरी आफ्नै मेहनतका बलमा अघि बढेको र पछि ठूलो शोमा काम गर्ने अवसर पाएको बताइन्। अहिले चर्चित रियालिटी शोको मञ्चसम्म पुग्नु आफ्नो परिश्रमको परिणाम भएको उनको भनाइ थियो।
आकांक्षाको खुलासापछि शोका होस्ट फराह खान र रितेश देशमुखले उनको साहसको प्रशंसा गरेका छन्। उनीहरूले यस्ता अनुभव सार्वजनिक गर्दा अन्य महिलालाई पनि आफ्नो आवाज उठाउन प्रेरणा मिल्ने बताए। मेहनत र प्रतिभाकै आधारमा सफलता हासिल गर्न सकिने भएकाले कुनै पनि महिलाले आफ्नो सपना पूरा गर्न गलत सम्झौता गर्न आवश्यक नभएको उनीहरूको भनाइ थियो।
फराह खानले उक्त प्रस्ताव दिने व्यक्ति यदि शो हेरिरहेको भए कुनै सम्झौता नगरी पनि सफल हुन सकिने सन्देश बुझ्नुपर्ने टिप्पणी गरिन्। साथै उनले आकांक्षाले आफ्नो निर्णयमा गर्व गर्नुपर्ने बताइन्।
हाल ‘लक अप’ अन्तिम चरणमा पुगेको छ। फिनाले सप्ताहमा धेरै प्रतियोगीले आफ्नो जीवनका निजी अनुभव साझा गरिरहेका छन्। आकांक्षाको दाबीपछि सामाजिक सञ्जालमा पनि यस विषयमा व्यापक चर्चा भइरहेको छ। यद्यपि उनले आरोप लगाएको व्यक्तिको नाम सार्वजनिक गरिएको छैन र आरोपबारे सम्बन्धित व्यक्तिको कुनै प्रतिक्रिया आएको छैन।
स्रोत : पलपल इन्डिया











प्रतिक्रिया