सिताराम गोकुल मिल्क्सको नयाँ वेबसाइट सञ्चालनमा, एक साताभित्र मोबाइल एप पनि आउने


काठमाडौं।

नेपालको दुग्ध क्षेत्रमा परिचित कम्पनी सिताराम गोकुल मिल्क्स प्राइभेट लिमिटेडले आफ्ना उपभोक्तालाई डिजिटल माध्यमबाट सहज सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ। कम्पनीले आगामी एक साताभित्र एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध हुने गरी आफ्नै मोबाइल एपसमेत सार्वजनिक गर्ने जनाएको छ।

कम्पनीको सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममार्फत नयाँ डिजिटल प्लेटफर्मको औपचारिक शुभारम्भ गरिएको हो। कम्पनीका प्रबन्ध निर्देशक सुमित केडियाको अध्यक्षतामा आयोजित कार्यक्रममा वेबसाइट सार्वजनिक गरिएको हो।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक केडियाले नयाँ वेबसाइट तथा आउन लागेको मोबाइल एपमार्फत उपभोक्ताले घरमै बसेर कम्पनीका विभिन्न दुग्धजन्य उत्पादनबारे जानकारी लिनुका साथै अनलाइन अर्डर गर्न सक्ने बताउनुभयो।

कम्पनीका अनुसार नयाँ डिजिटल प्लेटफर्ममार्फत शुद्ध दूध, घिउ, सुगर–फ्री दही, पनिर, मोत्जारेला चिज, लस्सी, बटर तथा आइसक्रिमलगायत उत्पादनको विस्तृत विवरण, मूल्य र पोषणसम्बन्धी जानकारी हेर्न सकिनेछ।

त्यसैगरी, ग्राहकले आफूलाई आवश्यक उत्पादन अनलाइनमार्फत घरमै मगाउन सक्ने व्यवस्था गरिएको छ। कम्पनीले नियमित रूपमा उत्पादन खरिद गर्न चाहने ग्राहकका लागि सब्स्क्रिप्सन मोडलसमेत उपलब्ध गराएको जनाएको छ।

डिजिटल भुक्तानीलाई समेत प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। ग्राहकले ई–सेवा, खल्तीलगायत डिजिटल वालेटमार्फत सुरक्षित रूपमा भुक्तानी गर्न सक्ने व्यवस्था प्लेटफर्ममा गरिएको छ।

कम्पनीले डिजिटल प्रविधिको प्रयोगमार्फत आफ्ना उत्पादनलाई छिटो र प्रभावकारी रूपमा उपभोक्ताको घरदैलोसम्म पुर्‍याउने लक्ष्य लिएको जनाएको छ। नयाँ वेबसाइट तथा मोबाइल एपले ग्राहकलाई उत्पादन छनोटदेखि अर्डर र भुक्तानीसम्मको प्रक्रिया सहज बनाउने कम्पनीको विश्वास छ।

कम्पनीले नयाँ डिजिटल प्रणालीमार्फत उपभोक्तासँगको सम्बन्ध थप सहज र प्रभावकारी बनाउँदै दुग्धजन्य उत्पादनको खरिद प्रक्रियालाई आधुनिक तथा प्रविधिमैत्री बनाउने उद्देश्य राखेको जनाएको छ।