काठमाडौं।
स्टक ब्रोकर नम्बर ६२ को रूपमा सञ्चालनमा रहेको क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडले आफ्ना ग्राहकलाई मार्जिन ट्रेडिङ सुविधा उपलब्ध गराउने तयारी अघि बढाएको छ। यसका लागि कम्पनीले १ अर्ब रुपैयाँ बराबरको अल्पकालीन बैंक ऋण लिने प्रक्रिया अगाडि बढाएको हो।
उक्त बैंकिङ सुविधाका लागि केयर रेटिङ्स नेपालले क्यापिटल म्याक्सलाई ‘CARE-NP A3’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमता सन्तोषजनक रहेको जनाउँछ।
मार्जिन ट्रेडिङबाट आम्दानीको दायरा बढाउने लक्ष्य
नेपाल धितोपत्र बोर्ड (SEBON) को मार्जिन ट्रेडिङसम्बन्धी निर्देशिकाअनुसार ग्राहकलाई सेयर खरिदका लागि ऋण उपलब्ध गराउने उद्देश्यले कम्पनीले थप पुँजी परिचालन गर्न लागेको हो।
हाल क्यापिटल म्याक्सको कुल आम्दानीको करिब ८५ प्रतिशत हिस्सा सेयर कारोबारबाट प्राप्त हुने कमिसनमा निर्भर रहेको छ। मार्जिन ट्रेडिङ सेवा सुरु भएपछि ग्राहकलाई प्रवाह गरिने कर्जाबाट ब्याज आम्दानीसमेत हुने भएकाले कम्पनीको आम्दानीका स्रोत थप विविध हुने अपेक्षा गरिएको छ।
कम्पनीले आर्थिक वर्ष २०२७ (FY27) देखि मार्जिन ट्रेडिङ सुविधालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।
छोटो समयमै शीर्ष १० ब्रोकरमा
आर्थिक वर्ष २०७९/८० देखि सञ्चालनमा आएको क्यापिटल म्याक्सले छोटो अवधिमै सेयर बजारमा आफ्नो उपस्थिति बलियो बनाएको छ। केयर रेटिङ्सको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ (FY25) को अन्त्यसम्म कम्पनीले २.१२ प्रतिशत बजार हिस्सा हासिल गरेको छ।
यससँगै कम्पनी नेपालका शीर्ष १० स्टक ब्रोकरमध्ये पर्न सफल भएको छ। कम्पनीसँग हाल करिब २३ हजार सक्रिय ग्राहक रहेको जनाइएको छ।
प्रविधिमा आधारित सेवालाई प्राथमिकता दिएको कम्पनीले आफ्नै वेबमा आधारित कारोबार प्लेटफर्मसमेत सञ्चालनमा ल्याएको छ। उक्त प्लेटफर्मले लगानीकर्तालाई सहज रूपमा सेयर कारोबार गर्न सहयोग पुर्याएको रेटिङ एजेन्सीको मूल्यांकन छ।
वित्तीय सूचक उत्साहजनक
क्यापिटल म्याक्सको पछिल्लो वित्तीय प्रदर्शन पनि सकारात्मक देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी १३० प्रतिशतले बढेर २५ करोड ४० लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, सोही अवधिमा कम्पनीले १२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको लागत–आम्दानी अनुपात (Cost to Income Ratio) १४.१३ प्रतिशत रहेको छ, जसले कम्पनीको सञ्चालन तथा व्यवस्थापकीय दक्षता राम्रो रहेको संकेत गर्छ।
कम्पनीको नेतृत्व पुँजी बजार, बैंकिङ तथा बिमा क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिहरूले गरिरहेका छन्। अध्यक्ष अतितलाल श्रेष्ठ तथा सञ्चालकहरू दीपेन्द्र देव भट्ट, विष्णु पोखरेल र अभिजित श्रेष्ठको क्षेत्रगत अनुभव कम्पनीको विकासमा सकारात्मक पक्ष रहेको केयर रेटिङ्सले उल्लेख गरेको छ।
बजारको उतारचढाव र कर्जा जोखिम चुनौती
कम्पनीको प्रगति सकारात्मक भए पनि केही जोखिम र चुनौती भने कायमै रहेको रेटिङ्सले जनाएको छ। सेयर बजारको उतारचढावबीच कम्पनीको सञ्चालन अनुभव तुलनात्मक रूपमा छोटो हुनु तथा आम्दानीको ठूलो हिस्सा अझै बजारको कारोबार रकममा निर्भर रहनु प्रमुख चुनौतीका रूपमा देखिएका छन्।
विशेषगरी मार्जिन ट्रेडिङ सेवा सुरु गरेपछि कर्जा जोखिम व्यवस्थापन र सेयर बजारको अस्थिरतासँग कम्पनीले कसरी जुध्छ भन्ने विषय महत्त्वपूर्ण हुने रेटिङ्सको निष्कर्ष छ।
यसैबीच, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले मार्जिन लेन्डिङ तथा पुँजी बजार सुधारका लागि अघि सारेका विभिन्न नीतिगत कदमले क्यापिटल म्याक्सजस्ता नयाँ तथा विस्तार भइरहेका ब्रोकर कम्पनीलाई आगामी दिनमा थप अवसर सिर्जना गर्न सक्ने देखिएको छ।











प्रतिक्रिया