दाङ
रिसाएको भैँसी पनि घाइते बाघजतिकै खतरनाक हुँदो रहेछ भन्ने दाङको एउटा घटनाले देखाएको छ । पाँच दिनअघि खोरबाट भागेर मानव बस्तीमा पसेको एउटा भैँसीले आठ जनालाई घाइते मात्र बनाएन, त्यसलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र नेपाली सेनासमेत परिचालन गर्नुपर्ने अवस्था सिर्जना गरायो ।
घोराही उपमहानगरपालिका–१४, नयाँबजारस्थित एक मासु पसलका लागि नारायणपुर क्षेत्रबाट खरिद गरी ल्याइएका दुईवटा भैँसीमध्ये एउटा गाडीबाट झारेर घोराही–१८ रझेनास्थित खोरमा राख्ने क्रममा भैँसी भागेको थियो । व्यवसायी गोविन्द बस्नेतका अनुसार गाडीको हर्नको आवाजले तर्सिएर भागेको उक्त भैँसी कहाँ गयो भन्ने तीन दिनसम्म पत्तो लागेन । तीन रातसम्म कटुवाखोलानजिकको बाँसको झाडीमा बसेको भैँसीप्रति स्थानीयले खासै चासो दिएनन् । तर शनिवार बिहान सडकमा निस्किएर मर्निङ वाकमा हिँडेका तीन महिलामाथि आक्रमण गरेपछि भने घटना स्थानीयवासीको प्रमुख चासोको विषय बन्यो । लगत्तै भैँसीको आक्रमणबाट एक स्थानीय पुरुष पनि घाइते भए ।
एकै दिन चार जना घाइते भएपछि स्थानीयले प्रहरीलाई खबर गर्दै भैँसी नियन्त्रणमा लिन आग्रह गरेका थिए । शनिवार दिउँसोदेखि रातिसम्म अम्बिकेश्वरी प्रहरी चौकीको समन्वयमा स्थानीयवासीले भैँसी नियन्त्रणमा लिने प्रयास गरेको स्थानीय शशी बेलबासेले जानकारी दिनुभयो । आइतवार बिहान पुनः भैँसीले थप तीन जनामाथि आक्रमण गरेपछि स्थानीयवासी झन् त्रसित बने । सम्बन्धित मासु व्यवसायीले जिल्ला प्रहरी कार्यालयमा अनुरोध गरेपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो ।
घोराही–१८, नवलपुर क्षेत्रमा दिउँसो करिब १२ बजे भैँसी देखिएपछि प्रहरीले स्थानीयवासी र मासु व्यवसायीसँगको सहकार्यमा झण्डै चार घण्टा नियन्त्रणमा लिने प्रयास ग¥यो । तर भैँसी त्यहाँबाट पनि भागेर करिब १५ मिनेट टाढाको अम्बापुर क्षेत्रमा पुगेपछि नियन्त्रण अभियान थप जटिल बनेको थियो । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले घाइतेको संख्या बढ्दै जाँदा स्थानीयवासीमा त्रास बढेको र थप मानवीय क्षति हुन नदिन घटनालाई उच्च प्राथमिकतामा राखेर डिएसपीकै नेतृत्वमा प्रहरी परिचालन गरिएको बताउनुभयो ।
आइतवार साँझदेखि प्रहरीले डिएसपीकै नेतृत्वमा थप जनशक्ति परिचालन ग¥यो भने नेपाली सेनाले पनि सादा पोशाकमो टोली परिचालन ग¥यो । नवलपुरबाट भागेको भैँसी अम्बापुर बिस्कुट उद्योगनजिकको मकैबारीमा पुगेको थियो । त्यही क्रममा स्थानीयवासीले नयाँ जुक्ति लगाए । आतंकित भैँसीलाई आकर्षित गर्न अन्य भैँसीलाई नजिकै रहेको खाली खोरमा राखियो । दिनभरि थाकेको भैँसी अन्य भैँसी देखेर आफैँ खोरभित्र प्रवेश गरेपछि नियन्त्रणमा लिन सहज भएको स्थानीय नुम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार निकै थाकिसकेको भैँसीले अन्य भैँसी देखेपछि आफू सुरक्षित हुने महसुस गरेर खोरमा प्रवेश गरेको हुन सक्छ ।
खोरमा प्रवेश गरेपछि पनि भैँसी निकै आक्रामक थियो । त्यसलाई नियन्त्रणमा लिन भने सजिलो भएन । लामो समयदेखि भैँसीको मासु व्यवसायमा आबद्ध घोराही–१४, नयाँबजारका लक्ष्मण डाँगीले अन्ततः भैँसीलाई नियन्त्रणमा लिन सफलता प्राप्त गर्नुभयो । यससँगै पाँच दिनदेखि स्थानीयमा रहेको त्रास र अनिश्चितताको अन्त्य भयो । नियन्त्रणमा आएपछि सुरक्षाकर्मी, स्थानीयवासी र व्यवसायीको सहकार्यमा भैँसीलाई गाडीमा राखेर सम्बन्धित व्यवसायीको जिम्मा लगाइएको छ ।
केही वर्षअघि घोराहीमा एउटा राँगाले पनि यस्तै आतंक मच्चाएको थियो । त्यसबेला सुरक्षाकर्मीले गोली प्रहार गरेर नियन्त्रणमा लिएका थिए । यसपटक पनि पाँच दिनसम्म भैँसी नियन्त्रणमा नआएपछि र आफ्नै वडामा धेरै व्यक्ति घाइते भएपछि आवश्यक परे गोली हानेर भए पनि नियन्त्रणमा लिन सुरक्षा निकायलाई आग्रह गरिएको तथा त्यसअनुसार तयारीसमेत गरिएको घोराही–१८ का वडा अध्यक्ष भरतमणि अर्यालले जानकारी दिनुभयो । यद्यपि अन्ततः गोली चलाउनुपर्ने अवस्था भने आएन ।











प्रतिक्रिया