काठमाडौं ।
नेपाल स्की संघको सातौँ नियमित साधारण सभा आइतबार काठमाडौँमा सम्पन्न भएको छ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष समेत रहनुभएका संघका अध्यक्ष जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित साधारण सभाको बन्द सत्रले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३४ लाख ८० हजार ८ सय रुपियाँको वार्षिक बजेट पारित गरेको छ । उक्त बजेट राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रमहरूमा सहभागिता, प्रशिक्षण सञ्चालन र विन्टर ओलम्पिक्सको पूर्वतयारीमा खर्च गरिनेछ । बन्द सत्रले उपाध्यक्ष रमा भट्टराईद्वारा प्रस्तुत कार्ययोजना, महासचिव विजय श्रेष्ठको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष जितेन्द्र श्रेष्ठको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गर्नुका साथै बीआर पराजुली एन्ड एसोसिएट्सलाई नयाँ लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
संघको परिमार्जित विधानअनुसार भौतिकसँगै भर्चुअल माध्यमबाट समेत पदाधिकारी तथा सदस्यहरूले भाग लिएको उक्त सभा काठमाडौँको स्वयम्भूस्थित वज्र होटलमा आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं संघका अध्यक्ष श्रेष्ठले देशमा खेलकुद क्षेत्रभित्र विद्यमान अस्थिरता, अन्योलता र अनावश्यक हस्तक्षेपका कारण अपेक्षाअनुसार सफलता हासिल हुन नसकेको धारणा व्यक्त गर्नुभयो । सबै पक्षले वैधानिक व्यवस्थाअनुसार इमानदार भएर काम गरेमा खेलकुदको अस्थिरता अन्त्य भई संघहरू निर्धक्क रूपमा खेल विकासमा लाग्न सक्ने उहाँको भनाइ थियो । हिमाली भूभाग र सर्वोच्च शिखर सगरमाथा भएको नेपालमा विन्टर खेलकुदको सम्भावना प्रचुर रहे पनि यसबारे जनचेतना अझै कम रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले उचित विकास र प्रवर्द्धन गर्न सके नेपाललाई विश्वमै स्की खेल पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा सभापति एवं उपाध्यक्ष रमा भट्टराई र महासचिव विजय श्रेष्ठले नेपालमा स्की खेल प्रवर्द्धनमा अनेकौँ चुनौती भए पनि संघले निरन्तर सम्भव भएसम्मका प्रयास गरिरहेको बताउँदै सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा, नेपाल ह्यान्डबल संघका अध्यक्ष पिताम्बर तिमिल्सिना, एनओसीका उपाध्यक्ष चतुरानन्द राजवैद्य, महासचिव राजीव श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि धन शाहीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सोही अवसरमा स्की संघका गतिविधि तथा खेलसम्बन्धी लेखहरू समेटिएको आधिकारिक म्यागेजिन ‘स्नोलाइन’ को पहिलो अङ्क प्रमुख अतिथि श्रेष्ठलगायत अतिथिहरूले संयुक्त रूपमा अनावरण गर्नुभएको थियो ।











प्रतिक्रिया