वैदेशिक प्रशिक्षणमा जाने कुश्ती टिमलाई एनओसीको विदाइ


काठमाडौँ । 

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले मङलगबार आइची नागोया एसियाली खेलकुदको तयारीका लागि भारत प्रस्थान गर्ने राष्ट्रिय कुश्ती टिमलाई विदाइ गरेको छ ।

सो प्रशिक्षण शिविर भारतको नयाँ दिल्लीमा जुलाई १७ देखि सेप्टेम्बर १५ तारिखसम्म हुनेछ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले शुभकामनासहित कुश्ती टिमको विदाइ गर्नुभयो । सो अवसरमा एनओसकिा सचिव भीम गुरुङ र नेपाल कुश्ती संघका अध्यक्ष प्रकास कुशारीको पनि उपस्थिति रहेको थियो । एनओसी अध्यक्ष श्रेष्ठले आगामी एसियाडमा उल्लेखलायक प्रदर्शन गर्नका निम्ति यस प्रशिक्षण शिविर महत्वपूर्ण हुने भएकोले खेलाडी र प्रशिक्षकहरुलाई प्रशिक्षणमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । 

नयाँ दिल्ली जाने कुश्ती टिममा सुरेश चुनारा (७४ केजी), निखिल राज पटेल (८६ केजी), राज यादव (१२५ केजी), यादव किशोर राम (६५ केजी), सुशीला चन्द (६२ केजी) र शिवाङगी दुवे (७७ केजी) हुनुहुन्छ । सो टिमको प्रशिक्षकमा राजेन्द्र चन्द, व्यवस्थापकमा खगेन्द्रबहादुर बस्नेत र सहायक व्यवस्थापकमा मुम्ताज अली रहनुभएको छ । भारतमा रहँदा कुश्ती टोली उत्तर प्रदेशको नन्दनीनगरलगायत विभिन्न एकेडेमीमा प्रशिक्षणमा रहनेइउको छ । एसियाली खेलकुद जापानको आइची–नागोयामा असोज ३ देखि १८ गतेसम्म हुनेछ । अध्यक्ष कुसारीका अनुसार टोली भारतबाटै जापान जानेछ ।