भक्तपुर ।
भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुमबासी परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै शनिबार कोणसभा गरेका छन्।
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपाल, काठमाडौं उपत्यका विशेष समितिको आयोजनामा भएको सभामा विस्थापित परिवारलाई भूस्वामित्वसहित स्थायी पुनर्स्थापना, घरटहरा तथा सामानमा भएको क्षतिको क्षतिपूर्ति र समयसीमासहितको पुनर्स्थापना योजना सार्वजनिक गर्न माग गरिएको छ।
मोर्चाले भदौ १२ गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह सुरु गर्ने चेतावनी दिएको छ। साथै भूमिहीन तथा सुकुमबासीको लगत संकलन, प्रमाणीकरण, नापजाँच र निस्सा वितरण प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेको छ।
मोर्चाले साउन २२ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ। भदौ ४ गते माइतीघर मण्डलामा खबरदारी सभा र भदौ ७ गते नागरिक समाज, राजनीतिक दल, मानवअधिकारकर्मी तथा कानुन व्यवसायीसहितसँग अन्तरक्रिया गर्ने जनाएको छ।
थापाथली, शान्तिनगर, गैरीगाउँ, मनहरा र जडीबुटीलगायत क्षेत्रमा लामो समयदेखि बस्दै आएका भूमिहीन परिवारलाई वैकल्पिक व्यवस्थापन र कानुनी प्रक्रियाबिना विस्थापित गरिएको मोर्चाको आरोप छ।











प्रतिक्रिया