काठमाडौं ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो यतिबेला आफ्नो प्रशासनिक जीवनकै सबैभन्दा ठूलो विवाद र नैतिकताको संकटमा फसेका छन् ।
बेलायती दैनिक ‘डेली टेलिग्राफ’को अनुसन्धानमूलक प्रतिवेदन अनुसार, इन्फान्टिनो सन् २००९ देखि २०१६ सम्म युरोपेली फुटबल महासंघ (युईएफए) को महासचिव छँदा आफूसँग प्रेम सम्बन्धमा रहेकी एक महिला कर्मचारीलाई संस्थाको बजेटबाट ठूलो रकम भुक्तानी गरिएको खुलासा भएको छ । विवाहित इन्फान्टिनोसँग सम्बन्धमा रहेकी ती महिलालाई पदोन्नति गर्दे पछि जागिर छुटाउने क्रममा लाखौँ पाउन्डको ‘विदाई सुविधा’ दिइनुका साथै वार्षिक ४५ हजार पाउन्ड शुल्क लाग्ने बिजनेस स्कूलमा एमबीए पढ्नका लागि युईएफएको कोषबाटै रकम तिरिएको प्रतिवेदनमा दाबी गरिएको छ ।
यो सनसनीपूर्ण खुलासापछि युईएफलेले ती पूर्व कर्मचारीलाई विदाई रकम र एमबीएको अध्ययन शुल्क भुक्तानी गरिएको तथ्यलाई स्वीकारेको छ । तर, उक्त रकम तत्कालीन नियम र प्रक्रिया अनुसार नै दिइएको दाबी गर्दै हाल त्यस्ता प्रशासनिक एवम् वित्तीय नियमहरू थप कडा पारिसकिएको स्पष्ट पारेको छ । अर्कोतर्फ, इन्फान्टिनो र फिफाका प्रवक्ताले भने यी सम्पूर्ण आरोपहरूलाई कडा शब्दमा खण्डन गर्दै पूर्णतः असत्य, भ्रामक र चरित्र हत्या गर्ने नियतले प्रेरित भनेका छन् । इन्फान्टिनोको कार्यकालमा युईएफए वा फिफामा कहिल्यै पनि उनको व्यवहारलाई लिएर कुनै उजुरी नपरेको र सम्पूर्ण प्रक्रिया विधिसम्मत नै भएको दाबी फिफाको छ । यद्यपि, बालबालिका तथा तल्लो तह (ग्रासरुट) को फुटबल विकासका लागि छुट्याइएको गैर-नाफामूलक संस्थाको रकम यसरी व्यक्तिगत सम्बन्ध लुकाउन वा सल्टाउन प्रयोग गरिएको आरोपले खेल जगतमा ठूलो तरङ्ग पैदा गरेको छ ।
विश्वकपका केही व्यापारिक अधिकार निजी लगानीकर्तालाई बेच्ने विवादित योजना र युरोपेली टोलीहरूको सम्भावित बहिष्कारको चेतावनीका कारण पहिले नै चौतर्फी दबाब झेलिरहेका ५६ वर्षीय इन्फान्टिनोका लागि यो नयाँ प्रकरणले उनको कुर्सी झनै धरापमा पारिदिएको छ । यो खुलासालगत्तै नर्वे फुटबल संघले उनको तत्काल राजीनामा मागेको छ भने इङ्गल्यान्डको फुटबल एसोसिएसनले पनि आफ्नो समर्थन फिर्ता लिइसकेको छ । यद्यपि, दक्षिण अमेरिकी महासंघ (कन्मेबोल), अफ्रिकी महासंघ (क्याफ) तथा मेक्सिको र अर्जेन्टिना जस्ता देशहरू अझै पनि उनको बचाउमा उभिएका छन् । एकातिर युरोपेली टोलीहरूको बहिष्कारको धम्की र अर्कोतिर आफ्नै पूर्व कर्मचारीसँगको अनुचित आर्थिक कारोबारको आरोपले इन्फान्टिनोको फिफा यात्रा अब कुन मोडमा पुग्छ भन्ने विषयमा विश्व फुटबलको ध्यान तानिएको छ ।











प्रतिक्रिया