काठमाडौं ।
डेढ दशक अघिको यौनकाण्डले दक्षिण कोरियाली फुटबल संघ (केएफए) यतिबेला आफ्नो इतिहासकै सबैभन्दा लाजमर्दो र गम्भीर विवादको घेरामा तानिएको छ ।
खेलको नतिजा आफ्नो पक्षमा पार्ने दाउमा सन् २०११ र २०१२ को अवधिमा विदेशी रेफ्रीहरूलाई यौन सेवा उपलब्ध गराइएको सनसनीपूर्ण खुलासाले विश्व फुटबल जगत्लाई नै स्तब्ध बनाएको छ । दक्षिण कोरियाली टेलिभिजन संस्था ‘जेटीबीसी’ले सार्वजनिक गरेको सन् २०१६ को एक गोप्य सरकारी छानबिन प्रतिवेदन अनुसार, केएफएका अधिकारीहरूले मैदानमा अनुकूल निर्णय हत्याउने कुत्सित मनसायले जापान, संयुक्त अरब इमिरेट्स (यूएई), इरान, बहराइन र उज्बेकिस्तानका रेफ्रीहरूलाई आतिथ्यको नाममा यौन सन्तुष्टि दिलाएका थिए ।
सरकारी प्रतिवेदन अनुसार मार्च २०११ देखि मार्च २०१२ सम्म विदेशी खेल अधिकारीहरूका लागि सात पटक यस्ता अवाञ्छित खर्च गरिएका थिए । जसमा कम्तीमा २० जना खेल अधिकारी मुछिएका छन् । यसको एउटा ज्वलन्त उदाहरण सन् २०१४ को विश्वकप छनोटअन्तर्गत २९ फेब्रुअरी २०१२ मा कुवेतविरुद्ध भएको खेलअघिको हो । जहाँ दक्षिण कोरिया २–० ले विजयी हुनुअघि सियोलको चर्चित गाङ्नाम क्षेत्रस्थित एउटा मसाज सेन्टरमा दुई जना रेफ्रीका लागि पाँच लाख वान खर्च गरिएको थियो । संघको रेफ्री विभागका तत्कालीन एकजना कर्मचारीले विदेशी रेफ्रीहरूले नै लामो हवाई यात्राको थकान मेट्न यस्तो सेवा मागेको र खेलमा आफ्नै पक्षमा निर्णय आओस् भन्ने अपेक्षासहित भुक्तानी मिलाइएको स्वीकारेका छन् । प्रतिवेदनमा अन्य दुई घटनामा पनि चार रेफ्री र एक रेफ्री सुपरभाइजरलाई मसाज केन्द्रमार्फत यौन सेवा दिलाइएको प्रस्ट पारिएको छ ।
मुख्य प्रशिक्षक नियुक्तिमा अनियमितता र आफन्तवादको आरोपमा हालै प्रहरी खानतलासीको समेत सामना गरिरहेको केएफएले यो घटना सार्वजनिक भएपछि १५ वर्षअघि केही अनुचित घटना भएको हुन सक्ने स्वीकारे पनि आफ्ना अभिलेख पाँच वर्षसम्म मात्र सुरक्षित रहने भएकाले घटनाको पुष्टि गर्न नसकिने दाबी गरेको छ । तत्कालीन समयमा आर्थिक दुरुपयोगको अनुसन्धान गर्दा यो तथ्य भेटिए पनि मुद्दा बिनाकारबाही बन्द गरिएको थियो । यद्यपि, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को आचारसंहिता अनुसार रेफ्रीलाई अनुचित प्रभावमा पार्ने वा खेल मिलेमतो गर्ने कार्यलाई अक्षम्य अपराध मानिन्छ। फुटबल विश्लेषक पार्क मुन–सोङका अनुसार रेफ्रीलाई प्रभावित पार्ने यस्ता गैरकानुनी हर्कतले दक्षिण कोरियाली फुटबलको अन्तर्राष्ट्रिय साख र प्रतिष्ठालाई गम्भीर सङ्कटमा धकेलिदिएको छ ।











प्रतिक्रिया