२०२७–२०३० का लागि नेपाललाई गाभीको ५७.६ करोड डलर सहयोग प्रस्ताव


काठमाडौँ।

नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७ देखि २०३० सम्मको खोप सहकार्यबारे उच्चस्तरीय छलफल भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगान नेतृत्वको टोलीबीच भएको बैठकमा आगामी चार वर्षको खोप सहयोग, सहवित्तीय लगानी र राष्ट्रिय खोप कार्यक्रमको वित्तीय दिगोपनबारे छलफल भएको हो।

गाभीले आगामी अवधिका लागि नेपाललाई ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप र १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ। त्यसका लागि नेपालले १ करोड ७१ लाख अमेरिकी डलर सहवित्तीय लगानी गर्नुपर्ने प्रस्ताव छ।

नेपाल र गाभीबीच सन् २००१ देखि सहकार्य हुँदै आएको छ। हालसम्म गाभीले नेपालमा ५५ करोड अमेरिकी डलरभन्दा बढी बराबरको खोप, कोल्ड चेन पूर्वाधार र स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बैठकमा विकास सहायता र वित्तीय स्रोत घट्दै गएको अवस्थामा राष्ट्रिय खोप कार्यक्रमलाई दीर्घकालीन रूपमा दिगो बनाउने विषयमा पनि छलफल भएको थियो। गाभीका प्रतिनिधिले नेपालको खोप क्षेत्रमा भएको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर राख्ने प्रतिबद्धता जनाएका छन्।