सांसद आशिका तामाङविरुद्ध साइबर ब्युरोमा उजुरी

चेक कीर्ते आरोपबारे पनि अनुसन्धानको माग


साइबर उजुरी नम्बर–६१६, १ करोड ३५ लाखको चेक प्रकरणले बैंकिङ प्रणालीमाथि पनि प्रश्न

काठमाडौँ ।

धादिङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य आशिका तामाङविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ । हाल अमेरिकामा रहेकी कुस्मा बुढाथोकीले सामाजिक प्रतिष्ठामा आँच पुग्ने गरी सामाजिक सञ्जालमा सामग्री प्रकाशित गरेर आफ्नो चरित्रहत्या गरेको आरोप लगाउनुका साथै चेक दुरुपयोगसँग सम्बन्धित विषयमा सांसद तामाङविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गराउनु भएको हो ।

पीडित कुस्मा बुढाथोकीका पति सुसन तिवारीले गत सोमवार साइबर ब्युरोमा उजुरी दर्ता गराउनु भएको छ । उजुरी नम्बर ६१६ को बारेमा ब्युरोले अनुसन्धान अघि बढाएको छ । पीडित पक्षका अनुसार उजुरी दर्तापछि साइबर ब्युरोले सांसद तामाङलाई अनुसन्धानका लागि सम्पर्क गर्न पटक–पटक प्रयास गरेको भए पनि उहाँले सो विषयमा कुरा गर्न नचाहेको बताइएको छ । सांसद तामाङले आफ्नो स्वकीय सचिवका रूपमा चिनाइएका दिलीप उप्रेतीलाई विषय मिलाउन जिम्मेवारी दिएको पीडित पक्षको आरोप छ ।

ब्युरोले समेत तामाङको नम्बरमा सम्पर्क गर्दा उहाँले आफ्नो स्वकीय सचिवलाई सबै कुरा भन्न आग्रह गर्नु भएको ब्युरोका एक अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

यही प्रकरणसँग सम्बन्धित अर्को गम्भीर आरोप १ करोड ३५ लाख रुपैयाँको चेक कीर्तेसँग जोडिएको छ । पीडित बुढाथोकीका अनुसार आफूले सांसद तामाङसँग कुनै आर्थिक कारोबार नगरेको र कुनै लेनदेनसमेत नभएको अवस्थामा आफ्नो नाममा रहेको बैंक खाताको चेक प्रयोग गरी सांसद तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरिएको थियो ।

पीडित पक्षका अनुसार उक्त चेक सानिमा बैंक, सीतापाइला शाखामा प्रस्तुत गरिएको थियो । खातामा पर्याप्त रकम नभएकाले बैंकले चेक ’बाउन्स’ गरेको थियो । त्यसपछि बैंकले ७ जुन २०२६ मा बुढाथोकीलाई इमेलमार्फत ४५ दिनभित्र रकम जम्मा गर्न अन्यथा कानुनी प्रक्रिया अघि बढ्ने चेतावनी दिएको छ ।

पीडित पक्षले सांसद तामाङविरुद्ध १ करोड ३५ लाख रुपैयाँको चेक जालसाजी सम्बन्धी उजुरी जिल्ला प्रहरी परिसर काठमाडौँमा दर्ता गर्न खोज्दा पनि विभिन्न बहाना बनाएर उजुरी दर्ता गर्न आनाकानी गरिएको आरोप लगाएको छ ।
बुढाथोकीले आफूले सांसद तामाङसँग कुनै आर्थिक सम्बन्ध नरहेको दाबी गर्दै भन्नुभयो–‘यदि मैले उहाँसँग पैसा लिएर नतिरेको प्रमाणित भयो भने जुनसुकै सजाय भोग्न तयार छु । तर सम्बन्ध नै नभएको व्यक्तिको नाममा निष्क्रिय बैंक खाताको चेक प्रयोग गरी मलाई मानसिक तनाव दिइएको छ ।’

यस घटनामा झापाका जीवनप्रसाद बाँस्कोटाको भूमिका रहेको आरोप पनि पीडित परिवारले लगाएको छ । परिवारका अनुसार बाँस्कोटाले आफूलाई नेपाल लाइफ इन्स्योरेन्सका शाखा प्रमुख तथा उच्च अधिकारीसँग निकट सम्बन्ध भएको बताउँदै परिवारसँग सम्बन्ध विस्तार गरेका थिए ।

क्यान्सरबाट पीडित डम्बरबहादुर बुढाथोकीको उपचार खर्च जुटाइदिने आश्वासनसहित विभिन्न शीर्षकमा रकम लिएको आरोप पनि उहाँमाथि लगाइएको छ ।

पीडित परिवारले सांसद तामाङका स्वकीय सचिव भएको दाबी गरिएका दिलीप उप्रेतीको भूमिकामाथि पनि प्रश्न उठाएको छ । परिवारका अनुसार उप्रेतीले आफू प्रधानमन्त्री तथा गृहमन्त्रीसम्म पहुँच भएको व्यक्ति भएको बताउँदै विवाद मिलाइदिने आश्वासन दिनुभएको थियो । तर पछि उल्टै सांसद तामाङको नाममा ठूलो रकमको चेक जारी गराएर बाउन्स गराइएको आरोप उनीहरूमाथि लगाइएको छ ।

यही प्रकरणमा कुस्मा बुढाथोकीकै नाममा रहेको निष्क्रिय बैंक खाताबाट १ करोड ८५ लाख रुपैयाँको अर्को चेक पनि काटी बाउन्स गराइएको आरोप पीडित परिवारले लगाएको छ । लगातार दुईवटा ठूलो रकमका चेक बाउन्स भएपछि आफूहरू चेक कीर्ते, जालसाजी तथा आर्थिक अपराधको शिकार भएको निष्कर्षमा पुगेको परिवारको भनाइ छ ।
उनीहरूले प्रहरी महानिरीक्षकको सचिवालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), गृह मन्त्रालयको गुनासो शाखा तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत उजुरी दिएको बताएका छन् । तर हालसम्म प्रभावकारी सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।

उता, जीवनप्रसाद बाँस्कोटाले भने घटनाबारे प्रहरीमा उजुरी परिसकेको र अनुसन्धान जारी रहेकाले विस्तृत टिप्पणी गर्न अस्वीकार गर्नुभयो । उहाँले नेपाल समाचारपत्रसँग संक्षिप्त प्रतिक्रिया दिँदै उल्टै प्रतिप्रश्न गर्नुभयो– ‘यो विषय अहिले प्रहरीको अनुसन्धानमा छ । व्यक्तिगत लेनदेनको विषय कसरी समाचार बन्छ ?’