कञ्चनपुरमा ३४ लाखभन्दा बढी मूल्यको खरबुजाको बीउसहित ट्रक नियन्त्रणमा


तस्बिर :एआई

काठमाडौँ।

कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ स्थित फोरलाईन क्षेत्रमा सशस्त्र प्रहरीले करिब ३४ लाख ३ हजार ४ सय रुपैयाँ बराबरको खरबुजाको बीउसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।

ना ८ ख १९९४ नम्बरको ट्रकमा महेन्द्रनगरबाट दोधारा चाँदनीतर्फ लैजाँदै गरिएको २ हजार २० केजी खरबुजाको बीउ सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकी र सीमा सुरक्षा गुल्म देवीस्थानबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो।

बरामद गरिएको खरबुजाको बीउको अनुमानित मूल्य ३४ लाख ३ हजार ४ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको ट्रकको भन्सार दाखिला मूल्य ३० लाख रुपैयाँ कायम गरिएको छ।

प्रहरीले बरामद गरिएको बीउसहित ट्रकलाई आवश्यक कानुनी कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीमा बुझाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।