रुसी जहाज कब्जा गरिए कडा जवाफ दिने पुटिनको चेतावनी


एजेन्सी।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूले रुसी व्यापारिक जहाज नियन्त्रणमा लिए त्यसको जवाफ रूसले पनि प्रतिशोधात्मक रूपमा दिने चेतावनी दिएका छन्।

प्रशान्त महासागरमा जारी रूसी नौसेनाको सैन्य अभ्यासको अन्तिम चरणका क्रममा बुधबार बोल्दै पुटिनले केही देशका अधिकारीहरूले अन्तर्राष्ट्रिय समुद्री कानुनविपरीत रुसी आर्थिक संस्थासँग सम्बन्धित जहाज तथा अन्य व्यावसायिक पानीजहाजको आवागमनमा अवरोध पुर्‍याउन खोजेको आरोप लगाए।

“यदि उनीहरूले हाम्रा जहाज कब्जा गर्छन् भने हामी पनि त्यस्तै कदम चाल्नेछौँ,” पुटिनले चेतावनी दिए।

युरोपेली नौसैनिक फौजले रूसको ‘छाया फ्लीट’ भनिएका जहाजमाथि निगरानी, अवरोध तथा निरीक्षणलाई तीव्रता दिइरहेका बेला पुटिनको यस्तो भनाइ आएको हो। भूमध्यसागरमा इटालीको नेतृत्वमा युरोपेली सङ्घ (इयू)ले सञ्चालन गरिरहेको गतिविधि पनि यसअन्तर्गत पर्छ।

जुलाईको अन्तिमतिर इयूले थप ४१ वटा ‘छाया फ्लीट’ अन्तर्गतका जहाजलाई आफ्ना बन्दरगाहमा प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो। त्यसैगरी रूसमा तरल प्राकृतिक ग्यास (एलएनजी) ढुवानी गर्ने ट्याङ्कर बिक्री गर्दा त्यसबारे अनिवार्य रूपमा जानकारी गराउनुपर्ने व्यवस्था पनि इयूले गरेको थियो।

पश्चिमी राष्ट्रहरूले रूसमाथि युक्रेन युद्धका कारण लगाएको प्रतिबन्ध छल्न ‘छाया फ्लीट’ प्रयोग भइरहेको आरोप लगाउँदै आएका छन्। यस्ता जहाजमार्फत रूसी तेल तथा अन्य सामग्री अन्तर्राष्ट्रिय बजारमा ढुवानी हुने गरेको उनीहरूको दाबी छ।

पुटिनले जापानले रूसमाथि लगाएका प्रतिबन्धको समेत आलोचना गर्दै एसिया–प्रशान्त क्षेत्रमा तनाव बढ्दै गएको बताए।

“दुर्भाग्यवश, हामी परिस्थितिमा परिवर्तन देखिरहेका छौँ। यी परिवर्तन रूसका तर्फबाट भएका कुनै पनि गतिविधिका कारण उत्पन्न भएका होइनन्,” उनले भने।