तीन पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अख्तियारको अनुसन्धान

658
Shares

काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्रीका निकट सहयोगी र स्वकीय सचिवहरूको सम्पत्तिको स्रोत खोज्न थालेको छ ।

अख्तियारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका लामो समयका स्वकीय सचिव भानु देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी तथा पूर्वस्वकीय सचिव गंगा दाहाल र उनका पति जीवन आचार्य तथा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश वज्राचार्यमाथि सम्पत्ति स्रोत बारेमा अनुसन्धान अघि बढाएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवाका स्वकीय सचिव भानु र पुष्पकमल दाहालका छोरी गंगाको सम्पत्तिको स्रोतबारे अनुसन्धान गर्न एक साताअघि अख्तियारलाई पत्राचार गरेको थियो । सोही पत्रको आधारमा अख्तियारले सम्पत्ति विवरण सङ्कलन गरेका थियो । अनुसन्धान अधिकृतहरूले अहिले बैंक खातामार्फत भएको रकमको विवरण र शेयर लगत विवरण सङ्कलन गरिरहेका छन् । अख्तियारका अनुसार भानुलाई सम्पत्तिसम्बन्धी विस्तृत अनुसन्धानको फारम भराइसकेको छ । त्यसैगरी बैंक खाता, जग्गा तथा शेयरको लगत विवरण विभिन्न निकायबाट मगाइरहेको अख्तियारका एक अनुसन्धान अधिकृतले बताए ।

त्यसैगरी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका पूर्वसहयोगी तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री प्रकाशबहादुर देउवामाथि समेत भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ । अख्तियारले तीन जना पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्रीका निकट सहयोगी र स्वकीय सचिवहरूको सम्पत्तिमाथि निगरानी बढाएको छ ।

यसअघि नै अख्तियारले पूर्वप्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश वज्राचार्यमाथि अकुत सम्पत्ति आर्जनको आशङ्कामा अनुसन्धान अघि बढाइसकेको थियो । आयोगले उहाँलाई बोलाएर सम्पत्ति विस्तृत अनुसन्धानको फारम भराएको छ । नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा लिज प्रकरणको अनुसन्धानका क्रममा वज्राचार्यको सम्बन्ध देखिएको र बालकोटस्थित रोज भिलेज हाउजिङमा उहाँकी पत्नी रश्मि शाक्यको नाममा रहेको घरसमेत यती समूहबाट घुसका रूपमा लिएको सीआईबीको अनुसन्धान निष्कर्ष रहेको बताइएको छ । सरकारी वकिलबाट उन्मुक्ति पाए पनि सीआईबीले २०८२ पुसमा उहाँमाथि भ्रष्टाचारमा अनुसन्धान गर्न अख्तियारलाई लेखी पठाएको थियो ।

त्यसैगरी आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका पूर्वसहयोगी तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवामाथि समेत भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइरहेको बुझिएको छ । प्रकाशबहादुर देउवा २०७९ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर–५ (२) बाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । उहाँ २०७९ माघमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बन्नुभएको थियो । उहाँ कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का स्थानीय हुनुहुन्छ । प्रकाश र भानु पूर्वप्रधानमन्त्री शेरबहादुरका भतिजा हुन् ।

पूर्वभौतिक पूर्वाधार विकासमन्त्री रहेका प्रकाश हाल अमेरिकामा हुनुहुन्छ । उहाँलाई सम्पत्ति विवरणसम्बन्धी फारम भराउने तथा बयान लिने प्रयास भइरहेको अख्तियारले जनाएको छ । प्रकाश र भानु देउवा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा हुन् । तीनै जनामाथि अख्तियारले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको अख्तियारका एक जना उच्च अधिकृतले बताए ।

परराष्ट्रमन्त्री हुँदा विद्युतीय राहदानी छपाइको ठेक्कामा अनियमितता गरेको अभियोगमा अख्तियारले यसअघि आरजुमाथि पनि अनुसन्धान गरेको थियो । तर, असार ८ मा विशेष अदालतमा मुद्दा दायर गर्दा आरजुलाई प्रतिवादी कायम गरिएको थिएन । अहिले विदेशमा रहेकी आरजु राणाको बयान नभएको र भन्दै अख्तियारले उहाँबारे थप अनुसन्धान गर्ने निर्णय गरेको थियो । आरजु राणा देउवा परराष्ट्रमन्त्री हुँदा विद्युतीय राहदानी छपाइको ठेक्का स्वीकृत भएको थियो ।

जर्मन कम्पनी भेरिडोस र मुल्हबाउरले मिलेमतोमा दुईवटा प्याकेजको ठेक्का लिएको अख्तियारको अनुसन्धान निष्कर्ष छ । सुरुमा सहयोगीका रूपमा काम गरेका प्रकाश आरजु मन्त्री हुँदा भने सचिवालयमा हुनुहुन्थेन ।
उनीहरूको आय र व्ययको विस्तृत अनुसन्धानपछि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन पुष्टि भए भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा अघि बढाउने छ ।