काठमाडौं ।
कमन जेनजी नेपालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध भदौ २३ गते देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।
संगठनका अध्यक्ष विकेश साहले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत ‘फेक शासनविरुद्ध असल शासन’ भन्ने नारासहित देशव्यापी आन्दोलन घोषणा गरेका हुन्।
साहले वर्तमान सरकारलाई दमनकारी र जनविरोधी भएको आरोप लगाउँदै जेनजी आन्दोलनका मूल माग सम्बोधन गर्न सरकार असफल भएको दाबी गरेका छन्। उनका अनुसार जेनजी आन्दोलन कुनै व्यक्ति वा सरकार परिवर्तनका लागि मात्र नभई समग्र शासन प्रणालीमा आमूल परिवर्तनका लागि भएको हो।
उनले जेनजी आन्दोलनका क्रममा घाइते भएका तथा सहिद परिवारको उचित सम्बोधन हुन नसकेको, किसानका समस्या समाधानमा सरकार गम्भीर नदेखिएको तथा बजारमा बढ्दो मूल्यवृद्धि र मल अभावजस्ता जनजीविकाका सवालमा समेत सरकार उदासीन बनेको आरोप लगाए।
अध्यक्ष साहले सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै ‘केपी ओलीलाई सडक आन्दोलनबाट फालेझैँ बालेन सरकारलाई पनि सडकबाटै फाल्छौं’ भन्ने चेतावनी दिएका छन्।
उनले परिवर्तन चाहने युवा, राजनीतिक दल, नागरिक समाज तथा राष्ट्रवादी शक्तिहरूलाई भदौ २३ गतेको आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।
आन्दोलनको स्वरूप, सहभागी हुने समूह तथा कार्यक्रमबारे थप विवरण संगठनले आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ।











प्रतिक्रिया