१८७ प्रकारका औषधी हटाइयो

स्वास्थ्य बीमा कार्यक्रममा औषधीको सूची परिमार्जन


काठमाडौँ, (नेस) ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितले पाउँदै आएका औषधीको सूची परिमार्जन गरिएको छ । स्वास्थ्य बीमा बोर्डले नयाँ ‘सुविधा थैली’ लागू गर्दै बीमा योजनाबाट उपलब्ध हुने औषधीको सङ्ख्या घटाएको हो ।

नयाँ व्यवस्थाअनुसार अब स्वास्थ्य बीमामार्फत १ हजार १ सय २ प्रकारका औषधी उपलब्ध हुनेछन् । यसअघि बीमा कार्यक्रमको सूचीमा १ हजार २ सय ८९ प्रकारका औषधी समावेश थिए । नयाँ सूची तयार गर्दा १ सय ८७ प्रकारका औषधी हटाइएको बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार एउटै उपचारमा प्रयोग हुने समान प्रकृतिका औषधीको दोहोरोपन हटाउनु, सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क उपलब्ध गराउने औषधीलाई बीमा सूचीबाट अलग गर्नु तथा नेपालमा प्रयोगमा नरहेका औषधी हटाउनु सूची परिमार्जनका प्रमुख कारण हुन् ।

सरकारले स्वास्थ्य संस्थामार्फत निःशुल्क उपलब्ध गराउने केही औषधी यसअघि स्वास्थ्य बीमा कार्यक्रमको सूचीमा समेत रहेकाले एउटै औषधीका लागि सरकारी निःशुल्क सेवा र बीमा दुवैबाट सुविधा उपलब्ध हुने अवस्था थियो । बोर्डले यस्तो दोहोरो व्यवस्था हटाएर स्रोतको प्रभावकारी उपयोग गर्ने उद्देश्य राखेको जनाएको छ ।

बोर्डले गत असार ३० गते बसेको बैठकबाट नयाँ सुविधा थैली स्वीकृत गरेको थियो । उक्त व्यवस्था साउन ५ गतेदेखि कार्यान्वयनमा आइसकेको छ ।

बोर्डका अनुसार औषधीको सङ्ख्या घटाइए पनि बीमितले प्राप्त गर्ने उपचार सेवामा उल्लेख्य असर पर्ने छैन । प्रयोगमा नरहेका तथा समान प्रकृतिका औषधी हटाइएकाले आवश्यक उपचार वैकल्पिक औषधीमार्फत व्यवस्थापन गर्न सकिने दाबी गरिएको छ । सूची पुनरवलोकन गर्दा कुनै पनि बीमित उपचार सेवाबाट वञ्चित नहुने विषयलाई प्राथमिकतामा राखिएको बोर्डले जनाएको छ ।