काठमाडौं ।
जापानका एक युवकले आफूलाई कुकुरजस्तो बनाउन २२० करोड रुपैयाँ खर्च गरेको दाबी गर्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो तथा पोस्ट गलत तथ्यमा आधारित रहेको पाइएको छ।
सामाजिक सञ्जालमा भाइरल दाबीअनुसार जापानका २६ वर्षीय करोडपति ‘जासो’ नामका व्यक्तिले कुकुरजस्तो देखिन र कुकुरकै शैलीमा जीवन बिताउन करिब २२० करोड रुपैयाँ खर्च गरेका थिए। उनले आफ्नो शरीरमा विभिन्न शल्यक्रिया गराएर मानिसबाट कुकुरमा रूपान्तरण भएको दाबीसमेत पोस्टमा गरिएको थियो।
तर तथ्य जाँच गर्दा यो दाबी गलत देखिएको हो। भारतको द ट्रिब्युनले गरेको तथ्य जाँचअनुसार भाइरल दाबी वास्तविक घटनालाई तोडमोड गरेर तयार गरिएको हो। उक्त घटनामा शल्यक्रियामार्फत मानिसको शरीरलाई कुकुरमा परिवर्तन गरिएको होइन।
वास्तविक घटना जापानका ‘टोको’ नामले चिनिने एक व्यक्तिसँग सम्बन्धित छ। टोकोले आफूलाई कुकुरमा परिवर्तन गर्न कुनै शल्यक्रिया वा स्थायी शारीरिक परिवर्तन गराएका थिएनन्। उनले चलचित्र तथा विज्ञापनका लागि पोसाक र मूर्ति बनाउने जापानी कम्पनी जेपेटसँग अत्यन्तै वास्तविक देखिने कोली जातको कुकुरको पोसाक बनाउन लगाएका थिए।
४० दिन लगाएर बनाइएको थियो कुकुरको पोसाक
टोकोले उक्त विशेष पोसाकका लागि करिब २० लाख जापानी येन खर्च गरेका थिए। विभिन्न अन्तर्राष्ट्रिय समाचार स्रोतका अनुसार उक्त रकम करिब १४ हजार अमेरिकी डलर आसपास थियो। जेपेटले उक्त पोसाक बनाउन करिब ४० दिन लगाएको थियो। पोसाकलाई वास्तविक कुकुरजस्तो देखिने गरी विशेष रूपमा तयार गरिएको थियो। त्यसमा कोली कुकुरको शरीर, रौँ तथा चार खुट्टामा हिँड्दा वास्तविक कुकुरजस्तै देखिने संरचनालाई ध्यान दिइएको थियो।
टोकोले सामाजिक सञ्जालमार्फत आफूलाई जनावर बन्ने बाल्यकालदेखिको इच्छा रहेको बताएका थिए। उनले आफूले कुकुरको पोसाक लगाएर कुकुरजस्तै हिँड्ने, भुइँमा पल्टिने र खेल्ने गतिविधिका भिडियोहरू सार्वजनिक गर्दै आएका छन्।
कुकुरको पोसाक लगाएर सार्वजनिक स्थानमा समेत पुगे
टोकोको कुकुरजस्तो देखिने पोसाकका कारण उनी सामाजिक सञ्जालमा चर्चित बने। उनले पोसाक लगाएर सार्वजनिक स्थानमा पहिलोपटक घुमेको भिडियोसमेत सार्वजनिक गरेका थिए।
भिडियोमा उनी मानिसहरूले डोरीले डोर्याउँदै कुकुरलाई घुमाएजस्तै पार्कमा घुमिरहेका देखिन्छन्। उनी अन्य वास्तविक कुकुरहरूसँग समेत नजिक जाने, सुँघ्ने र भुइँमा पल्टिने प्रयास गरिरहेको देखिन्छ।
उनको गतिविधिले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो। कतिपयले उनको इच्छालाई अनौठो भन्दै आलोचना गरे भने कतिपयले आफ्नो रुचि पूरा गर्ने स्वतन्त्रताको समर्थन गरेका थिए।
परिवार र परिचितबाट आफ्नो पहिचान लुकाउँदै आएका थिए
टोकोले आफ्नो यो रुचिका कारण आफूलाई चिन्ने मानिसहरूले अनौठो ठान्न सक्ने डर रहेको बताएका थिए। त्यसैले उनले लामो समयसम्म आफ्नो वास्तविक पहिचान सार्वजनिक गर्न चाहेनन्।
उनका सामाजिक सञ्जाल सामग्रीमा उनी कुकुरको पोसाक लगाएर विभिन्न गतिविधि गरिरहेको देखिन्छ। उनले आफूलाई जनावर बन्ने इच्छा सानैदेखि रहेको बताउँदै आएका छन्।
द गार्डियनका अनुसार टोकोले उक्त पोसाक बनाउन खर्च भएको करिब २० लाख येन लामो समयसम्म बचत गरेर जम्मा गरेका थिए। उनले कोली कुकुरलाई आफ्नो मनपर्ने जातका रूपमा उल्लेख गरेका छन्।
पुरानो घटना फेरि नयाँ दाबीका रूपमा भाइरल
टोकोको कुकुरको पोसाकसम्बन्धी घटना नयाँ भने होइन। उनको कथा सन् २०२३ मै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक रूपमा आएको थियो। त्यतिबेला उनले करिब २० लाख जापानी येन खर्च गरेर कोली कुकुरजस्तो देखिने विशेष पोसाक बनाएको समाचार सार्वजनिक भएको थियो।
तर अहिले सामाजिक सञ्जालमा उक्त पुरानो घटनालाई नयाँ पात्रको नाम, ठूलो रकम र शल्यक्रियाको दाबी जोडेर प्रस्तुत गरिएको देखिन्छ।











प्रतिक्रिया