किशोर श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी


काठमाडौं ।

पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको भोलिपल्ट प्रहरीले सानेपास्थित जनआस्था कार्यालयमा खानतलासी गरेको छ।

बिहीबार बिहान करिब ७ बजे प्रहरीको टोली जनआस्था कार्यालय पुगेको थियो। प्रहरीले कार्यालयमा रहेका कागजपत्र तथा विभिन्न कम्प्युटर र इलेक्ट्रोनिक उपकरण संकलन गरेको जनाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार कम्प्युटर तथा कम्प्युटरजन्य उपकरण हेर्नुपर्ने भएकाले कार्यालयमा खानतलासी गरिएको हो।

श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो। उनको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघले आपत्ति जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघका अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीहरूले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदै श्रेष्ठको पक्राउप्रति विरोध जनाएका छन्।