पत्रकार श्रेष्ठको रिहाइको माग गर्दै महासंघको धर्ना


काठमाडौं । पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिने भएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै प्रेस स्वतन्त्रताका पक्षधर सबैलाई धर्नामा सहभागी हुन आह्वान गरेका छन्।

नेपाल प्रहरीले हिजो जनआस्था साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई पक्राउ गरेको थियो। त्यसैगरी, आज बिहान प्रहरीले जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी गरेको छ।

महासंघले श्रेष्ठको पक्राउ तथा जनआस्था कार्यालयमा गरिएको खानतलासीको विरोध गर्दै विनासर्त रिहाइको माग गरेको छ। हिजो राति पनि महासंघ अध्यक्ष निर्मला शर्मासहित पत्रकारहरूको टोलीले काठमाडौं प्रहरी परिसर अगाडि प्रदर्शन गरेको थियो।

श्रेष्ठलाई तत्काल रिहा नगरे कडा आन्दोलनमा जाने चेतावनी महासंघले दिएको छ।