काठमाडौँ ।
परराष्ट्रमन्त्री शिशिर खनालले जेन–जी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात गर्दै काम गरिरहेको बताउनुभएको छ । उहाँले बुधवार परराष्ट्र मन्त्रालयको समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम–२०२६ को ‘रिसर्च डिसिमिनेसन एन्ड क्लोजिङ’ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
मन्त्री खनालले नेपालको परराष्ट्र नीति सुदृढ बनाउन अनुसन्धान, प्रमाणमा आधारित विश्लेषण र सूचित सार्वजनिक बहसको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले युवा अनुसन्धानकर्तालाई बदलिँदो अन्तर्राष्ट्रिय घटनाक्रमको अध्ययन गर्दै नेपालको कूटनीतिक अभ्यास तथा नीति निर्माणमा योगदान गर्न आग्रह पनि गर्नुभयो ।
राजनीतिमा आउनुअघि आफूले विद्यालय तहको सार्वजनिक शिक्षाको क्षेत्रमा समेत काम गरेको जिकिर गर्दै परराष्ट्रमन्त्री खनालले नेपाली युवाले ज्ञान उत्पादन गर्ने र त्यसले नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सरकार युवासँग सहकार्य गरेर अघि बढिरहेको दाबी गर्दै उहाँले भन्नुभयो– ‘म परराष्ट्र मन्त्रालयमा आएपछि युवाहरूसँग सहकार्य गर्नका लागि यो कार्यक्रम अघि ल्याइएको हो । समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रमले जलवायु परिवर्तन, श्रम आप्रवासन, कृत्रिम बौद्धिकता (एआई), प्रविधिलगायत विभिन्न क्षेत्रलाई समेटेको छ ।’ उहाँले परराष्ट्र मन्त्रालयले दुई देश वा संस्थाबीचको सम्बन्ध विस्तारमा मात्र सीमित नभई देशभित्रका विषयमा समेत सुधार ल्याउन चाहेको पनि बताउनुभयो ।
कार्यक्रममा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) की कार्यकारी निर्देशक रोजिना ताम्राकारले स्वागत मन्तव्य दिँदै कार्यक्रमले युवा अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई कूटनीति र परराष्ट्र नीतिको व्यावहारिक अनुभव प्रदान गर्नुका साथै शैक्षिक अनुसन्धान र नीतिगत अभ्यासबीच सम्बन्ध स्थापित गर्न सहयोग पुगेको बताउनुभयो ।
जुन महिनाको मध्यदेखि अगस्टको मध्यसम्म सञ्चालन भएको आठ हप्ते स्वैच्छिक नीति अनुसन्धान कार्यक्रममा १० जना फेलो र १० जना इन्टर्न सहभागी थिए । कार्यक्रममा सहभागीहरूले रणनीतिक मामिला तथा सार्वजनिक अन्तर्राष्ट्रिय कानुन, विकास तथा वित्त, प्रविधि, स्वच्छ ऊर्जा र नेपाली डायस्पोरालगायत पाँच विषयगत क्षेत्रमा नीतिमुखी अनुसन्धान गरेका थिए । परराष्ट्र मन्त्रालयको पहलमा सुरु भएको समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम–२०२६ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले आयोजना गरेको हो ।











प्रतिक्रिया