बुटवल।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि ३ अर्ब ५ करोड ६७ लाख ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक जगेश्वरदेवी चौधरीले नगरसभाको २१औं अधिवेशनको बैठकमा आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाले आगामी वर्ष पूर्वाधार विकास, शिक्षाको गुणस्तर सुधार, कृषि आधुनिकीकरण र सुशासनलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।
प्रस्तुत बजेटमा कुल विनियोजनमध्ये विकासतर्फ ठूलो हिस्सा छुट्याइएको छ । पुँजीगत खर्चका लागि १ अर्ब ६७ करोड ८४ लाख ६६ हजार रुपैयाँ अर्थात् कुल बजेटको ५४.९१ प्रतिशत व्यवस्था गरिएको छ । यसैगरी चालु खर्चतर्फ ९२ करोड ३८ लाख २२ हजार रुपैयाँ अर्थात् ३०.२२ प्रतिशत, सामाजिक सुरक्षातर्फ ४५ करोड रुपैयाँ अर्थात् १४.७२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४५ लाख रुपैयाँ प्रस्ताव गरिएको छ । आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोततर्फ तिलोत्तमाले आन्तरिक राजस्वबाट ३६ करोड ६ लाख २५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । बाँकी २ अर्ब ६९ करोड ६१ लाख ६३ हजार रुपैयाँ संघीय र लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट तथा चालु आर्थिक वर्षको नगद मौज्दातबाट बेहोरिने उपप्रमुख चौधरीले जानकारी दिइन् ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख चौधरीले चालु आर्थिक वर्ष २०८२-८३ को खर्चको स्थिति सन्तोषजनक नरहेको तथ्यांक सार्वजनिक गरिन् । चालु आवमा कुल २ अर्ब ९२ करोड ९३ लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म १ अर्ब ६३ करोड ५८ लाख ९ हजार रुपैयाँ अर्थात् करिब ५३ प्रतिशत मात्र खर्च हुन सकेको छ । जसमध्ये चालुतर्फ ७३ प्रतिशत र सामाजिक सुरक्षातर्फ ८३ प्रतिशत खर्च भए पनि विकास (पुँजीगत) तर्फ भने समीक्षा अवधिसम्म जम्मा ३३ प्रतिशत मात्र बजेट खर्च भएको छ । आन्तरिक राजस्वतर्फ भने ३३ करोड संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म २५ करोड २९ लाख रुपैयाँ अर्थात् ७७ प्रतिशत राजस्व संकलन भइसकेको प्रतिवेदनमा उल्लेख छ ।
यसपटकको बजेटमा तिलोत्तमाले भौतिक पूर्वाधारलाई विशेष जोड दिँदै आगामी आर्थिक वर्ष २०८३÷८४ लाई “सडक मर्मत वर्ष” घोषणा गरेको छ । नगरभित्रका रणनीतिक र आर्थिक महत्वका पक्की सडकहरूको मर्मत सम्भार र स्तरोन्नतिका लागि वडा कार्यालयको बजेटसँग म्याचिङ हुने गरी ७ करोड ८२ लाख रुपैयाँ प्रस्ताव गरिएको छ । त्यस्तै, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ऐतिहासिक पुरानो सडकलाई स्वर्णिम र बहुवर्षीय योजनाका रूपमा निर्माण थाल्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ भने ’एक वडा एक किलोमिटर सडक’ कार्यक्रमलाई निरन्तरता दिन ८ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ ।











प्रतिक्रिया