प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को एक उपाध्यक्ष पदका लागि परिषद्का आठ पूर्वकर्मचारीसहित २५ जनाको नाम सार्वजनिक भएको छ । तीमध्ये आठजना सोही कार्यालयका पूर्वउपाध्यक्ष र निर्देशक छन् । भर्खरै जागिर छाडेका उनीहरुले उपाध्यक्ष हुन प्रयास जारी राखेका छन् । तीन दशक जागिरे जीवन बिताएका पूर्वकर्मचारी फेरि उपाध्यक्षको पद हत्याउने दाउमा देखिन्छन् । जेनजीको बलबाट बनेको अहिलेको सरकार दोहोरो अवसरको विपक्षमा देखिएको छ । पुरानो मान्यताबाट पछि हटेर नयाँ जोश र जाँगर भएका व्यक्तिलाई उपाध्यक्ष बनाउने विषयमा चौतर्फी दबाबसमेत बढेको छ ।
लामो समय परिषद्मा जागिरे जीवन बिताएर भर्खरै अवकाश भएका कर्मचारीले उपाध्यक्षमा निवेदन दिनु उचित होइन । अवकाशपछि केही समय आराम गरेर पछि आफू अनुकूलको पेसा अँगाल्नुचाहिँ उचित हुनेछ । अवकाश भएको वर्षदिन बित्न नपाउँदै फेरि कार्यकारी पदमा आउन खोज्नु गलत नियत पनि हुन सक्छ । परिषद्का पूर्वकर्मचारी एवं भर्खरै उपाध्यक्षबाट राजीनामा दिएका मोहम्मत सफिउल्लाह, पूर्वनिर्देशक उमेशकुमार मिश्र, टैलेन्द्र आचार्य, नागेन्द्र शाह, कुष्माकर भट्ट, सौरभराम जोशी, हेमन्त पराजुली र उपेन्द्र पोखरेल छन् । अधिकांश उम्मेदवारले आफू उपाध्यक्ष भएरै छाड्ने दाबी गरेका छन् । पटक–पटक अवसर लिएका भन्दा पनि नयाँ अवसरको खोजीमा रहेका विज्ञलाई उपाध्यक्ष बनाउनु उचित हुनेछ । सरकारको पनि त्यही तयारी रहेको देखिन्छ ।
कर्मचारीबाहेक उपाध्यक्षमा काजीराम अधिकारी, रञ्जित ठाकुर, टामलाला खनाल, अर्जुनप्रसाद बास्तोला, मोलीलाल चौधरी, पवनकुमार गुप्ता, डा. खेमराज जोशी, डा. दीपेन्द्रकुमार यादव, शेषानन्द सञ्जेलको नाम पनि सिफारिस भएको छ । त्यस्तै तुलसीराम भण्डारी, हरिशंकरप्रसाद शाह, विनोदकुमार यादव, डिलबहालुर बुर्जा मगर, राजबहादुर गिरी, गंगाप्रसाद यादवसमेत छन् । मन्त्रालयले सिफारिस भएका सबैलाई आफ्नो कार्ययोजना सार्वजनिक गर्न समय दिनेछ ।
उपाध्यक्ष सिफारिस भएका तीनमध्ये मन्त्री परिषद्ले एकजनालाई नियुक्ति गर्ने व्यवस्था छ । सरकारले परिषद्बाहिर रहेका तर प्राविधिक तथा व्यावसायिक क्षेत्रमा लागेका विज्ञलाई नियुक्ति गर्नु उचित हुन्छ । निवेदन दिने सबै विज्ञ नै हुन् । सबैको तर्क छ– हाम्रो भन्दा पनि राम्रोलाई नियुक्ति गर्नु उपयुक्त हुनेछ । किनकि नयाँ जोश बोकेर आएका व्यक्तिले संस्थालाई सही ढंगले अघि बढाउन सक्छ । कर्मचारीको चंगुलमा वर्षौंदेखि रमाइरहेका व्यक्तिले फेरि त्यही संस्थामा आएर स्वतन्त्रपूर्वक काम गर्न सक्दैन । सधैँ सरकारी पदमा रही अवकाश जीवन बिताइरहेकाले फेरि त्यही संस्थामा काम गर्ने जमर्को गर्ने व्यक्तिमाथि सरकार निर्मम हुनुपर्छ । नयाँलाई मौका दिएमा परिषद्ले नयाँ ढंगले काम गर्न सक्छ र उद्देश्य पूरा गर्न सक्छ । त्यसैले कुनै पनि संस्थामा त्यही संस्थाबाट अवकाश पाएकालाई फेरि उच्च ओहदामा कदापि नियुक्ति गर्नुहुँदैन । उपाध्यक्ष छनौट गर्दा यो विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विशेष ध्यान दिनुपर्छ ।











प्रतिक्रिया