मदनकृष्णमाथि फिल्म


हास्यव्यंग्य क्षेत्रका शिखर व्यक्तित्व मदनकृष्ण श्रेष्ठको जीवन अब फिल्ममा उतारिने भएको छ। ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता, गीतकार, गायक तथा संगीतकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्म मदनकृष्ण निर्माणको औपचारिक घोषणा सोमवार राजधानीमा आयोजित समारोहबीच गरिएको हो।

फिल्मको शुभारम्भ मदनकृष्ण श्रेष्ठ र उनका जीवनयात्राका अभिन्न सहयात्री तथा हरिवंश आचार्यले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा मदनकृष्णलाई धिमे बाजागाजासहित स्वागत गरिएको थियो। माला र खादाले सम्मान तथा शुभकामना दिइ“दा उनी भावुक बनेका थिए। त्यस बेला हरिवंश आचार्यको छेउमा बसेका मदनकृष्णले आ“सु थाम्न सकेनन्।

मदनकृष्णको जीवनका सुख–दुःख, संघर्ष, उतारचढाव र सफलताका यात्रालाई समेटेर निर्माण हुन लागेको बायोपिक निर्देशक मिलन चाम्सले निर्देशन गर्नेछन्। पछिल्ला वर्षमा बायोपिक निर्माणमा सफल मानिएका चाम्सले यसअघि राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बाप्पेको जीवनमा आधारित फिल्म अञ्जिला निर्देशन गरेका थिए, उनले बबी र ब्लाइन्ड रक्सजस्ता चर्चित बायोपिक ल्याइसकेका छन्। नेपाली अभिनेताको जीवनमा आधारित बायोपिक निर्माण हुन लागेको यो पहिलो अवसर हो।

फिल्ममा मदनकृष्ण श्रेष्ठको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् भने मदनकृष्णकी पत्नी यशोदाको भूमिकामा अभिनेत्री केकी अधिकारी देखिनेछिन्। फिल्ममा मदनकृष्णको बाल्यकाल, सरकारी सेवाको अनुभव, हरिवंश आचार्यस“गको सहकार्य, अन्तरजातीय विवाह तथा जीवनका विभिन्न संघर्षपूर्ण अध्याय समेटिने जनाइएको छ।

फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाललगायतले पनि अभिनय गर्नेछन्। यद्यपि मदनकृष्णका कलाकारिता सहयात्री हरिवंश आचार्यको भूमिका कसले निर्वाह गर्नेछ भन्ने विषय भने अझै गोप्य राखिएको छ। कार्यक्रममा बोल्दै ७६ वर्षीय मदनकृष्ण श्रेष्ठले आप्mनै जीवनमा आधारित फिल्म बन्न लागेकामा खुसी व्यक्त गरे। ‘म एकदमै खुसी छु। दर्शकले मेरो जीवनबारे अझै नजिकबाट बुझ्न पाउनुहुनेछ’ उनले भने। हरिवंश आचार्यले मदनकृष्णको बायोपिक निर्माण हुनु आफ्नो लागि पनि गर्वको विषय भएको बताए। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पनि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाली कला क्षेत्रका अत्यन्त सम्मानित व्यक्तित्व भएको चर्चा गर्दै बायोपिक निर्माण आफैंमा चुनौतीपूर्ण कार्य रहेको बताए।

कार्यक्रममा गायिका आनी छोइङले स्वस्तिवाचन गरेकी थिइन्। त्यसअघि निर्माण टिमले पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेर फिल्मको शुभारम्भ गरेको थियो। भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने फिल्मका निर्माता राजकुमार श्रेष्ठ हुन्। यम थापाको कथा तथा पटकथा रहेको फिल्ममा पदमबहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) डीओपी, मिलन श्रेष्ठ सम्पादक, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक तथा भरत क“डेल साउन्ड डिजाइनर रहेका छन्। फिल्म भदौ दोस्रो साताबाट छाया“कनमा जानेछ।