झापा लागूऔषधको ट्रान्जिट पोइन्ट 


भद्रपुर। 

 लागूऔषधमा देशभरिकै ट्रान्जिट पोइन्ट झापा बनेको छ । पाँचवर्षे तथ्याङ्कलाई हेर्दा झापामा लागूऔषधको घटना बढ्दो छ । २०७८-०७९ मा २०० जना , २०७९-०८० मा २०६ , २०८०-०८१ मा २९७ , २०८१-०८२ मा ३४५ र चालु आर्थिक वर्षको जेठ सम्ममा ३५२ जना पक्राउ परेका छन् । 

चालु आर्थिक वर्षको ११ महिनाको अवधिको वारदात स्थलको आधारमा तथ्याङ्कले सबैभन्दा बढी मेचीनगरमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतबाट लागूऔषध लिएर आउँदै गर्दा सबैभन्दा बढी सीमावर्ती क्षेत्र मेचीनगरमा पक्राउ परेका हुन् । मेचीनगरमा ९२ , भद्रपुरमा ७७ , बिर्तामोडमा ४५ , दमकमा ३२ , अर्जुनधारामा १६, गौरीगञ्जमा १३ , कमलमा ७, गौरादहमा ६ , बुद्धशान्तिमा ५ , कचनकवलमा २ र हल्दीबारीमा एकजना पक्राउ परेका छन् । 

लागूऔषधमा संलग्न ९८ प्रतिशत पुरुष रहेका छन् । २० देखि ४० वर्ष उमेर समूहका ९० प्रतिशत युवा छन् । लागूऔषधमा फस्नेहरुमा अधिकांश मजदुर वर्ग छन् । होटल लजमा काम गर्ने , टेक्निसियन , मिस्त्री , चालक ९१ प्रतिशत संलग्न रहेको पाइएको छ । दुई प्रतिशत मात्र विद्यार्थी संलग्न छन् । त्यस्तै ७४ प्रतिशत विवाहित मानिसहरु संलग्न रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । १५ प्रतिशत बाहिरबाट आउनेहरु छन् भने ७० प्रतिशतले शरीरको गोप्य अङ्गमा लागूऔषध लुकाएर ल्याउने गरेको अनुसन्धानमा खुलेको एसपी बसुन्धरा खड्का बताउँनुहुन्छ । 

योसगै जिल्लामा १५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनी लुकेर रहेको तथ्याङ्क देखिएपछि जिल्ला प्रहरी कार्यालयले ‘लागूऔषधविरुद्ध झापा अभियान’ शुरु गरिएको  एसपी  खड्काले बताउनुभयो ।

तर, लागूऔषधको क्षेत्रमा काम गर्ने संस्थाका अनुसार झापामा २० हजारभन्दा बढी लागूऔषध प्रयोगकर्ता रहेको अनुमान गरिएको छ । जिल्लामा ४० वटा पुनर्स्थापना केन्द्रमा सरदर ३० जनाका दरले एक पटकमा १२०० जना उपचारमा जाने गरेका छन् । बाँकी बाहिर छन् । झापामा सक्रिय डिलर ५०÷५२ वटा रहेको अनुमान गरिएको छ । साथै घुम्ती बिक्रेता पनि रहेको बुझिएको छ । उनीहरु स्कुल र कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर लागूऔषध आपूर्ति गर्ने गरेका छन् । बिर्तामोडमा ११÷१२ जति ठूला डिलर छन् भने घुम्ती बिक्रेता ५÷७ वटा टिम रहेको प्रहरीले अनुमान लगाएको छ । शुरु शुरुमा किनेर लागूऔषध प्रयोग गर्नेहरु पछि बिक्रेता बन्ने गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरिसकेको छ ।

जिल्लामा लागूऔषधको वास्तविक आकार प्रहरीले देखेको भन्दा धेरै ठूलो रहेकोे  प्रहरीको बुझाइ छ । प्रहरीले देखेको र कारबाही गरेको सङ्ख्या समस्याको टुप्पो मात्र भएको खड्काले बताउनुभयो । लागूऔषधमा संलग्न भएका कारण जिल्लामा ९२४ जना राज्यको नियन्त्रणमा रहेका छन् । कैदी ३७६ जना , बन्दी ३४० जना र २०८ जना हिरासतमा छन् । त्यस्तै लागूऔषधको दुव्र्यसनबाट छुटकारा पाउन १ हजार ३९५ जना स्वउपचारमा छन् । १ हजार २६२ जना पुनर्स्थापना केन्द्रमा र १३३ जना ओएसटी प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत रहेको तथ्याङ्कमा उल्लेख छ ।

लागूऔषधको सङ्कटको मुख्य जरो भारतसँगको खुल्ला सीमा रहेको छ । भारतीय सीमावर्ती क्षेत्र पानीट्याङ्की , गलगलिया , दिघलबैङ्कलगायतका क्षेत्रबाट झापामा लागूऔषध आपूर्ति हुने गरेको छ । खुल्ला सीमा , साथीको सङ्गत , बेरोजगारी र गरिबी , पारिवारिक मौनता, सहज उपलब्धता , विद्यालयको कमजोर निगरानी , मानसिक तनावजस्ता कारणले लागूऔषधमा फस्ने गरेको विभिन्न घटनाक्रमले देखाएको छ । 

लागूऔषधकै कारण चोरी डकैती र अपराध वृद्धि , घरेलु हिङ्सा , आत्महत्या र दुर्घटना , मानसिक र शारीरिक रोग, पारिवारिक बिखण्डन , सामाजिक अस्थिरता र डरजस्ता समस्या देखिने गरेको छ ।