हिउँदको सुख्खा पहिरोले बर्खामा थुनियो सेती 


पोखरा। 

 पोखरा महानगरपालिका वडा नं. १५ र १७ को बीच भागमा सेती नदी थुनिँदा नदीको सतह करिब ५० मिटरले बढेको छ । हिउँदको समयमा ठूला ठूला ढिस्को (सुख्खा पहिरो) गएपछि नदी थुनिएको थियो । हिउँदमा बेवास्ता गर्दा बर्खामा त्यसले ठूलो जोखिम निम्त्याउने देखिएको छ । 

सेती थुनिएर जलाशय बनेकाले सम्भावित विपद् जोखिमप्रति स्थानीयवासीलाई सचेत र सुरक्षित रहन सम्बन्धित निकायहरुले आग्रह गरेको छ ।

थुनिएको नदी एक्कासि खुल्दा वा जलाशय आसपासका दायाँ–बायाँका जमिन भासिँदा ठूलो क्षति हुन सक्ने सम्भावना देखिएको हो । 

थुनिएको पानी एक्कसी खोलिएमा रातोपैह्रा, महत्तगौंडा, लामातारा, दोबिल्ला लगायत सेती नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिक जोखिममा रहेका छन् । उनीहरुलाई उच्च सतर्कता अपनाउन पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङले अनुरोध गर्नुभएको छ ।

गुरुङले थुनिएको नदीलाई पुनः प्राकृतिक बहावमा फर्काउने प्रयास भइरहेको बताउनुभयो । उहाँले सम्बन्धित निकाय, विज्ञ तथा सरोकारवालासँग समन्वय गरी जोखिम न्यूनीकरणका लागि आवश्यक पहल भइरहेको बताउनुभयो ।

घटनास्थलको अवलोकनका लागि कार्यवाहक प्रमुख गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला सुरक्षा समितिका पदाधिकारी, प्राविधिक विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा सम्भावित जोखिमको मूल्याङ्कन गर्दै आवश्यक पूर्वतयारी तथा सुरक्षा उपाय अवलम्बन गर्ने विषयमा छलफल भएको छ ।

महानगरपालिका सेती नदी आसपासका बासिन्दालाई अफवाहमा नलागी आधिकारिक सूचना तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गर्दै कुनै असामान्य अवस्था देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गर्दछ ।

वडा नम्बर १५ का वडाध्यक्ष तोरण बानियाँले भने तत्कालै उक्त स्थानबाट ती ढिस्को फुटाउन सम्भव नभएको बताउनुभयो । उहाँले हिउँदको समयमा खसेको सुख्खा पहिरोको कारण अहिले समस्या निम्तिएको सुनाउनुभयो । 

‘यो अहिले बर्खामा खसेर थुनिएको होइन् । तीन-चार महिनाअघि प्लेट–प्लेट खस्यो र सेतीको खोँचमा पुगेर अडकियो । अहिले पानी बढ्यो र बग्ने बहावलाई छेक्दा जोखिम बढेको हो’ उनले भने, ‘यसलाई तत्काल समाधान गर्न सक्ने स्थिति मैले देख्दिन । त्यहाँ न त स्काभेटर लान मिल्छ न त जेसिवि । यसलाई अब बर्खा सकिएपछि विस्फोट गराउने बाहेक मैले देख्दिन ।’

बर्खापछि पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिकामा प्राकृतिक विपद्का कारण सिर्जना भएको जोखिम तथा क्षतिको व्यवस्थापनका लागि जिल्ला सुरक्षा समिति कास्कीले विशेष निर्णय गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई पत्राचार समेत गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्रागंत बरालले दुई छुट्टाछुट्टै पत्रहरू मार्फत पोखरा महानगरपालिका र सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजनालाई तत्काल कार्य अगाडि बढाउन अनुरोध गर्र्नुभयो ।

अनुगमनपछि आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले नदी किनारबाट चट्टान र गेग्रानसहित खसेको पहिरोका कारण नदीमा परेको तत्कालिन प्रभाव, जोखिम क्षेत्रको पहिचान, दीर्घकालीन प्रभाव तथा तत्काल र दीर्घकालीन रोकथामका उपायहरू पहिल्याउने निर्णय गरेको छ । यसका साथै भविष्यमा गर्नुपर्ने कार्यहरू सहितको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयन गर्न सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र पोखरा महानगरपालिकालाई अनुरोध गरिएको छ भने यस कार्यको निरन्तर अनुगमन जिल्ला प्रशासन कार्यालय कास्कीले समन्वयात्मक रूपमा गर्ने जनाइएको छ ।

त्यसैगरी, अन्नपूर्ण गाउँपालिकामा मनसुनको सुरुआतसँगै आएको बाढी र पहिरोले पु¥याएको क्षति, राहत र पुनःनिर्माणको विषयमा पनि सुरक्षा समितिको ध्यानाकर्षण भएको छ । मनसुनजन्य विपद्बाट पालिकाका विभिन्न क्षेत्रमा भएको क्षतिको राहत तथा पुनःनिर्माणका लागि प्राविधिक लागत अनुमान समेत स्थानीय विपद् व्यवस्थापन समितिबाट पछि अनुमोदन हुने गरी आवश्यक कार्यार्थ सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखरामा पठाइएको छ । तीब्र रूपमा विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका कार्यहरू सम्पन्न गर्नका लागि दुवै पत्रमार्फत सम्बन्धित कार्यालयहरूलाई तोकिएको जिम्मेवारी जिम्मेवारीपूर्वक वहन गर्न आग्रह गरिएको छ ।

रातो पैह्रास्थित सेतीको डिल भत्किएर सेतीको बहाव अवरुद्ध भएको सूचनापछि प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरूङको नेतृत्वमा स्थलगत निरीक्षण गरिएको थियो । सहायक प्रजिअ बरालले तत्काल ठूलो जोखिम नदेखिए पनि प्राविधिक रूपमा अध्ययन र नियन्त्रणको जिम्मेवारी दिइएको बताउनुभयो । सशस्त्र प्रहरी बलले ड्रोनमार्फत जोखिम देखिएको ठाउँको अध्ययनसमेत गर्ने उहाँले बताउनुभयो ।