काठमाडौं ।
चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालको आयात उल्लेखनीय रूपमा बढ्दै जाँदा व्यापार असन्तुलन थप गहिरिएको छ। पेट्रोलियम पदार्थ, खाद्यान्न, औद्योगिक कच्चा पदार्थ तथा उपभोग्य सामग्रीमा उच्च आयात निर्भरता कायम रहँदा साउनदेखि जेठसम्म कुल १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ बराबरका वस्तु विदेशबाट भित्रिएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो।
भन्सार विभागको तथ्यांकअनुसार सोही अवधिमा नेपालको निर्यात १२.२८ प्रतिशतले वृद्धि भएर २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ पुगे पनि आयातको तुलनामा निकै कम रहेकाले व्यापार घाटा बढेर १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।
चालु आर्थिक वर्षको चैतदेखि लगातार तीन महिनासम्म मासिक आयात २ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। चैतमा २ खर्ब १ अर्ब २४ करोड, वैशाखमा २ खर्ब २ अर्ब ३९ करोड र जेठमा २ खर्ब १ अर्ब ४५ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन्। यसले उपभोगमुखी अर्थतन्त्र र आयात निर्भरताको दबाब अझै कायम रहेको संकेत गर्छ।
ऊर्जा क्षेत्रसँग सम्बन्धित वस्तुहरू आयात सूचीको अग्रस्थानमा छन्। समीक्षा अवधिमा नेपालले १ खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ बराबरको १२ लाख ६४ हजार ८७८ किलोलिटर डिजेल आयात गरेको छ। औद्योगिक उत्पादन, यातायात, निर्माण तथा अन्य क्षेत्रमा व्यापक प्रयोग हुने डिजेल सबैभन्दा धेरै आयात भएको वस्तु बनेको हो।
त्यस्तै, पेट्रोल आयातका लागि ६८ अर्ब १७ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ। ६ लाख ८५ हजार १२७ किलोलिटर पेट्रोल आयात भएको तथ्यांकले देखाउँछ। डिजेल र पेट्रोल मात्रै आयात गर्न नेपालले २ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा खर्च गरेको छ।
कच्चा सोयाबिन तेल आयात दोस्रो स्थानमा रहेको छ। नेपालले ९० अर्ब ११ करोड ५५ लाख रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात गरेको छ। मुख्यतः अर्जेन्टिनाबाट आयात हुने उक्त तेल स्वदेशी उद्योगले प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन्। यही अवधिमा भारततर्फ १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको प्रशोधित सोयाबिन तेल निर्यात भएको छ, जसले नेपालको कुल निर्यातमा सबैभन्दा ठूलो हिस्सा ओगटेको छ। यसले आयातित कच्चा पदार्थमा आधारित प्रशोधन उद्योगको योगदान बढ्दै गएको देखाउँछ।
औद्योगिक कच्चा पदार्थमध्ये स्पन्ज आइरनको आयात ५३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। निर्माण सामग्री उत्पादनका लागि आवश्यक यो वस्तु मुख्यतः भारतबाट आयात हुने गरेको छ। खाना पकाउने एलपी ग्यास आयातमा ५२ अर्ब २१ करोड ६६ लाख रुपैयाँ खर्च भएको छ भने घरेलु प्रयोगका कारण यसको माग निरन्तर उच्च रहेको देखिएको छ।
उपभोग्य सामग्रीतर्फ स्मार्टफोन आयातमा ४३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ। ११ महिनामा १७ लाखभन्दा बढी स्मार्टफोन नेपाल भित्रिएका छन्। त्यस्तै, सुन आयातका लागि २५ अर्ब ७८ करोड रुपैयाँ खर्च भएको छ।
स्वास्थ्य तथा कृषि क्षेत्र पनि आयातमा निर्भर देखिएका छन्। औषधीय सामग्री आयातमा २४ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ भने हवाई इन्धन आयात २४ अर्ब ६ करोड ५१ लाख रुपैयाँ पुगेको छ। कृषि उत्पादनका लागि आवश्यक डीएपी मल आयातमा २० अर्ब ९७ करोड ९१ लाख रुपैयाँ खर्च भएको तथ्यांकले देखाएको छ।
कृषिप्रधान देश मानिने नेपालमा धान र चामलको आयात पनि उच्च नै रहेको छ। समीक्षा अवधिमा धान आयातमा मात्रै १७ अर्ब २३ करोड ७२ लाख रुपैयाँ खर्च भएको छ। धान र चामल जोड्दा कुल ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको ७ लाख ११ हजार ५२० टन आयात भएको छ। अघिल्लो वर्षको तुलनामा आयात रकम र परिमाण केही घटे पनि तयार चामलको आयात भने बढेको छ।
बासमती चामल आयात ७ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ भने अन्य सामान्य चामल आयात पनि बढेर ११ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। यसले स्वदेशमै धान प्रशोधन गरेर चामल उत्पादन गर्नुको सट्टा विदेशबाट तयारी चामल आयात गर्ने प्रवृत्ति बढिरहेको संकेत गर्छ।
धानको बिउ, कनिका तथा ब्राउन राइसको आयातसमेत वृद्धि भएको छ। यद्यपि धान–चामल आयातबाट प्राप्त हुने राजस्व भने अघिल्लो वर्षको तुलनामा घटेको छ।











प्रतिक्रिया