वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध


काठमाडौं ।

वर्षा, पहिरो, बाढी, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, मुगुको नाग्म–गमगढी सडक, रुकुम पश्चिमको भेरी करिडोर तथा सोलुखुम्बुको सल्लेरी–लुक्ला सडक प्रभावित भएका छन्।

सम्भावित बाढीको जोखिमका कारण बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

इलामको मेची राजमार्गअन्तर्गत राजदुवालीमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भए पनि वैकल्पिक मार्ग सञ्चालनमा छ। सिन्धुपाल्चोकको जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो तथा सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड अवरुद्ध छन्।

त्यस्तै, दोलखाको किर्नेटारमा खोलाले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ। सोलुखुम्बुको सल्लेरी–लुक्ला सडक र तेह्रथुमको मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण प्रभावित भएका छन्।

प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।