लागूऔषध सेवन गरेर सवारी चलाउने चालक बढ्दै, ट्राफिक जाँचमा ३ जना पक्राउ

1.03k
Shares

रौतहट।

पूर्व–पश्चिम राजमार्गमा लागूऔषध सेवन गरेर सवारी चलाउने चालकहरूको संख्या बढ्दै गएको पाइएको छ। रौतहटको चन्द्रनिगाहपुरमा ट्राफिक जनचेतनामूलक सप्ताह अन्तर्गत सोमबार गरिएको विशेष स्वास्थ्य तथा नशा परीक्षणका क्रममा १४ जना चालकको जाँच गर्दा ३ जना चालक लागूऔषध सेवन गरेको अवस्थामा फेला परेका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेभन्दा लागू औषध सेवन (लापसे) गरेर गाडी चलाउने चालकहरू भेटिन थालेका छन्। उहाँले राजमार्गमा साना तथा यात्रुवाहक सवारीका चालकहरूमा यस्तो प्रवृत्ति बढ्दै गएको बताउनुभयो।

प्रहरीले दिएको जानकारी अनुसार बा.प्र. ०१–०३३ च ५७०९ नम्बरको पिकअपका चालक बाराको कोल्हवी नगरपालिका–२ निवासी २२ वर्षीय अर्जुन माझी, बीआर ०७ पीसी ०४२६ नम्बरको स्कर्पियोका चालक सप्तरीको बोदेबर्साइन नगरपालिका–१ निवासी २९ वर्षीय राधेश्याम यादव तथा ना ४ च ८७०५ नम्बरको बोलेरोका चालक बाराको सिमरा उपमहानगरपालिका–४ निवासी २८ वर्षीय सञ्जय मेस्तर लागू औषध सेवन गरेर सवारी चलाउँदै गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले लागू औषध सेवन गरेर सवारी चलाएको पुष्टि भएपछि तीनै चालकलाई नियन्त्रणमा लिइएको बताउनुभयो।

ट्राफिक प्रहरीले राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि लागू औषध तथा मादक पदार्थ सेवन गर्ने चालकविरुद्ध जाँचलाई थप कडाइ गर्ने जनाएको छ। प्रहरीका अनुसार चालकको लापरबाही र नशाको अवस्थामा सवारी सञ्चालन गर्दा यात्रु तथा सर्वसाधारणको ज्यान जोखिममा पर्ने भएकाले यस्ता गतिविधिमाथि निगरानी बढाइएको हो।

राजमार्गमा पहिले ‘मापसे’ चालकको जोखिम प्रमुख मानिन्थ्यो भने अहिले ‘लापसे’ चालकको चुनौती थपिँदै गएको देखिएको छ। यात्रुवाहक तथा मालवाहक सवारीका चालकहरू नै लागू औषधको नशामा भेटिन थालेपछि पूर्व–पश्चिम राजमार्गको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाहरूले बताएका छन्।