संविधान बन्यो, तर राज्यको क्षमता बढेन : डा. स्वर्णिम वाग्ले

470
Shares

चितवन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले देशमा पटक–पटक निर्वाचन सम्पन्न भए पनि जनताले अपेक्षा गरेका परिवर्तनहरू संस्थागत रूपमा स्थापित हुन नसकेको बताएका छन्।

महाधिवेशनलाई सम्बोधन गर्दै उनले संविधान निर्माण भइसकेको र लोकतान्त्रिक संरचनाहरू विस्तार भए पनि राज्यका संस्थाहरू पर्याप्त रूपमा सबल बन्न नसकेको उल्लेख गरे। उनका अनुसार राज्यको आकार र संरचना विस्तार हुँदै गए पनि त्यसअनुसार सेवा प्रवाह गर्ने क्षमता विकास हुन सकेन।

डा. वाग्लेले नागरिकका अधिकारहरू क्रमशः बढ्दै गए तापनि सार्वजनिक सेवाको गुणस्तरमा अपेक्षित सुधार आउन नसकेको बताए। आर्थिक गतिविधिको स्वरूप परिवर्तन भए पनि सम्मानजनक र मर्यादित रोजगारीका अवसर पर्याप्त रूपमा सिर्जना गर्न नसकिएको उनको भनाइ थियो।

उनले यिनै कारणले समाजमा असन्तुष्टि, निराशा र विद्रोहको भावना बढ्दै गएको उल्लेख गर्दै वर्तमान राजनीतिक तथा प्रशासनिक प्रणालीप्रति जनतामा प्रश्न उठ्नु स्वाभाविक रहेको बताए। राज्यका संरचना र सेवाहरूलाई जनमुखी, प्रभावकारी तथा उत्तरदायी बनाउन अब नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता रहेको उनको जोड थियो।