रौतहट ।
रौतहटको सदरमुकाम गौरमा कुकुरबाट मानिसमा सर्न सक्ने रेबिज रोगको जोखिम न्यूनीकरण तथा कुकुरको स्वास्थ्य संरक्षणका लागि निःशुल्क एन्टी–रेबिज खोप शिविर सञ्चालन गरिएको छ।
कुकुरप्रेमीहरूको पहलमा आयोजित शिविरमा पहिलो दिन ३० वटा कुकुरलाई एन्टी–रेबिज खोप लगाइएको आयोजकले जनाएको छ। अभियानअन्तर्गत खोप लगाउन बाँकी रहेका कुकुरलाई समेत क्रमशः खोप लगाउँदै जाने तयारी गरिएको छ।
कुकुरलाई स्वस्थ राख्नुका साथै मानिस र समुदायलाई रेबिजजस्तो गम्भीर रोगबाट सुरक्षित राख्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकको भनाइ छ। विशेषगरी सडक तथा घरपालुवा कुकुरको स्वास्थ्यप्रति समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसमेत अभियानले लिएको छ।
अभियानका पहलकर्ता सन्तोष पौडेलले कुकुरप्रेमीका रूपमा कुकुरको स्वास्थ्य र समाजको सुरक्षाका लागि आफूहरूले गरेको यो पहिलो प्रयास भएको बताए। उनले अभियानमा साथ, सहयोग तथा सहभागिता जनाउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने बताए।
रेबिज रोगको जोखिम न्यूनीकरणका लागि कुकुरलाई नियमित रूपमा एन्टी–रेबिज खोप लगाउनु आवश्यक रहेको भन्दै आयोजकले कुकुर पालक तथा सरोकारवालालाई खोप अभियानमा सहभागी हुन आग्रह गरेका छन्।











प्रतिक्रिया