काठमाडौं ।
गिग अर्थतन्त्र र राइड–हेलिङ क्षेत्रले नेपालमा रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार तथा शहरी यातायात व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने सरोकारवालाहरूले बताएका छन्।
नेपाल इकोनोमिक फोरम ( एनइएफ) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘गिग अर्थतन्त्र र राइड–हेलिङः रोजगारी सिर्जनातर्फ’ विषयक छलफल कार्यक्रममा सहभागीहरूले गिग अर्थतन्त्र युवाहरूका लागि आम्दानीको नयाँ अवसर बन्दै गएको बताएका हुन्।
कार्यक्रममा राइड–हेलिङ सेवाले शहरी यातायातलाई सहज बनाउनुका साथै पर्यटन, साना तथा मझौला व्यवसाय (SMEs) र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको विषयमा जोड दिइएको थियो।
राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले गिग अर्थतन्त्रलाई व्यवस्थित र दिगो बनाउन स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको बताए। उनले नवप्रवर्तन र नियमनबीच सन्तुलन कायम गर्दै श्रमिक संरक्षण, सामाजिक सुरक्षा तथा प्रमाणमा आधारित नीति निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गरे।
नेपाल इकोनोमिक फोरमका कार्यकारी बोर्ड सदस्य रोजेश श्रेष्ठले राइड–हेलिङ सेवा केवल यातायात क्षेत्रसँग मात्र सीमित नभई पर्यटन, साना व्यवसायको विकास र रोजगारी विस्तारसँग प्रत्यक्ष रूपमा जोडिएको बताए।
यस्तै, ड्राइभर नेपालका अध्यक्ष राजेश मास्के ले राइड–हेलिङ क्षेत्रको तीव्र विस्तारलाई व्यवस्थित गर्न स्पष्ट कानुनी व्यवस्था र स्वस्थ प्रतिस्पर्धाको वातावरण आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा ड्राइभ नेपाल की प्रबन्ध निर्देशक आँचल कुँवर, विश्व बैंक समूह की वरिष्ठ सामाजिक संरक्षण विशेषज्ञ जास्मिन राजभण्डारी तथा कानुन व्यवसायी समन्त दाहालले डिजिटल व्यवसाय, गिग श्रमिकको सामाजिक सुरक्षा, महिला सहभागिता र स्पष्ट कानुनी संरचनाको आवश्यकताबारे आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको समापन गर्दै नेपाल इकोनोमिक फोरमका अध्यक्ष सुजीव शाक्यले नेपालमा गिग अर्थतन्त्रको दिगो विकासका लागि सरकार, निजी क्षेत्र तथा अन्य सरोकारवालासँग सहकार्य गर्दै अनुसन्धान र संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।











प्रतिक्रिया