पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति वितरण


काठमाडौं 

नेपालका विभिन्न विद्यालयका २०० भन्दा बढी उत्कृष्ट विद्यार्थीलाई पाकिस्तानले छात्रवृत्ति प्रदान गरेको छ। नेपालस्थित पाकिस्तानी दूतावासले बुधबार काठमाडौंको एलोफ्ट होटलमा आयोजित १४औँ ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप’ कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हाश्मीले विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेक हुन्। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा शिक्षा र सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। देशभरका उच्च माध्यमिक तहकाविद्यार्थीहरूलाई उनीहरूको शैक्षिक उपलब्धि र आर्थिक आवश्यकताका आधारमा विद्यालयहरूले छनोट गरेका थिए। कार्यक्रममा पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको १५०औँ जन्मजयन्तीको अवसर पारेर विशेष सम्मानसमेत प्रदान गरिएको थियो। यसअन्तर्गत त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसकी विद्यार्थी प्राप्ति लाम्साललाई यस वर्षकी उत्कृष्ट छात्रवृत्ति प्राप्तकर्ताका रूपमा ल्यापटप प्रदान गरिएको दूतावासले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत हाश्मीले नेपालमा शिक्षाको विकासका लागि पाकिस्तानको सहयोग निरन्तर रहने बताए। उनले छात्रवृत्ति कार्यक्रम केवल आर्थिक सहायता नभई नेपालको भविष्यको उत्सव भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई विज्ञान तथा प्रविधि, स्वास्थ्य, जैविक विज्ञान, नवप्रवर्तन, कूटनीति, वित्तीय साक्षरता र समालोचनात्मक सोचजस्ता क्षेत्रमा दक्षता विकास गर्न आग्रह गरे।

उनले पाकिस्तानले नेपालमा प्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्म छात्रवृत्ति उपलब्ध गराउँदै आएको तथा उच्च शिक्षाका लागि पाकिस्तानमा अध्ययन गर्ने अवसरसमेत प्रदान गरिरहेको बताए। विद्यालयहरूलाई सूचना प्रविधि, खेलकुद, उदार कला र विज्ञान–प्रविधि शिक्षामा संस्थागत सहयोगसमेत उपलब्ध गराइँदै आएको उनको भनाइ थियो।

सन् २०१३ मा सुरु भएको ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप कार्यक्रम’ नेपालमा विदेशी मुलुकद्वारा सञ्चालन गरिएका प्रतिष्ठित छात्रवृत्ति कार्यक्रममध्ये एकमानिन्छ। कार्यक्रममार्फत हालसम्म हजारौँ नेपाली विद्यार्थीले लाभ लिएको पाकिस्तानी दूतावासले जनाएको छ।