काठमाडौँ ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले देश इतिहासकै सङ्कटपूर्ण अवस्थामा पुगेकाले आठ दलको साझा अभियानका रूपमा अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्।
काठमाडौँमा मोर्चाको अवधारणापत्र सार्वजनिक गर्दै शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सामाजिक न्याय र आर्थिक विकासलाई अघि बढाउन मोर्चा गठन गरिएको बताए।
मोर्चाले स्थानीय तहलाई प्रदेश मातहत ल्याउन संघर्ष गर्ने, बहिष्करणमा परेका समुदायका अधिकार सुनिश्चित गर्न संविधान संशोधन तथा पुनर्लेखनको पहल गर्ने जनाएको छ। युवाको बेरोजगारी समाधानका लागि सीपमूलक स्वरोजगार कार्यक्रम सञ्चालन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता पनि मोर्चाले जनाएको छ।
त्यस्तै, वास्तविक तथा नक्कली सुकुमबासीको पहिचान गरी समस्या स्थायी रूपमा समाधान गर्ने, मोर्चाको संगठन जिल्ला र प्रदेश तहसम्म विस्तार गर्ने तथा सामूहिक निर्णय प्रणाली अपनाउने अवधारणापत्रमा उल्लेख छ।











प्रतिक्रिया