खोइरुल अनाम: राइस कुकर विवाहदेखि नो सेल पसलसम्म, व्यंग्यात्मक स्टन्टले विश्वभर चर्चित बनेका इन्डोनेसियाली युवा


इन्डोनेसियाका २९ वर्षीय युवा खोइरुल अनाम सामाजिक सञ्जालमा आफ्ना व्यंग्यात्मक र कल्पनाशील तस्बिरहरूका कारण विश्वभर चर्चित बनेका छन्। उनका अनौठा सिर्जनाहरू नियमित रूपमा भाइरल हुने गर्छन् र लाखौँ मानिससम्म पुग्ने गरेका छन्।

खोइरुलको सिर्जनात्मक यात्रा सन् २०१७ तिर सुरु भएको मानिन्छ, जब उनी योज्याकर्ताको एक व्यापारिक केन्द्रमा सामान्य कर्मचारीका रूपमा काम गर्थे। जीवनप्रति असन्तुष्टि भएपछि उनी आफ्नो गाउँ फर्किए र आफ्नै शैलीमा अनौठा र हास्यप्रधान फोटो तथा भिडियोहरू बनाउन थाले।

सुरुवाती चरणमा उनले धान खेतको बीचमा सुत्ने, गाउँको मेलामा असामान्य गतिविधि गर्ने जस्ता प्रयोगात्मक फोटोसुट गरेका थिए। यी गतिविधिहरूलाई सुरुमा धेरैले नकारात्मक रूपमा लिए पनि पछि उनका सामग्री सामाजिक सञ्जालमा लोकप्रिय हुन थाले।

सन् २०१८ मा उनले लामो सेल्फी स्टिक प्रयोग गरी मोटरसाइकल चलाएको जस्तो देखिने भिडियो सार्वजनिक गरेपछि ठूलो चर्चा पाएका थिए। त्यसपछि उनले “केही पनि नबेच्ने पसल” र “डन्ड्रफ ट्रेड सेन्टर” जस्ता व्यंग्यात्मक अवधारणामा आधारित कन्टेन्टहरू बनाउन थाले, जसले उनलाई इन्टरनेट सेलिब्रेटी बनायो।

उनका चर्चित स्टन्टहरू

राइस कुकरसँग विवाह: खोइरुलले फिलिप्स ब्रान्डको राइस कुकरलाई बेहुली बनाएर औपचारिक रूपमा “विवाह” गरेका थिए। उनको भनाइअनुसार, राइस कुकर शान्त र आज्ञाकारी भएकाले उनले विवाह गरेको बताएका थिए। तर विवाहको चार दिनमै उनले “डिभोर्स” घोषणा गर्दै हास्यपूर्ण रूपमा भनेका थिए— “यसले केवल भात मात्र पकाउँछ, अरू परिकार आउँदैन।”

अनौठो फेसन   : उनले मानिसहरूलाई हँसाउन र सामाजिक सञ्जालमा चर्चा बटुल्नका लागि दैनिक जीवनका वस्तुहरू प्रयोग गरेर थुप्रै अनौठा स्टन्टहरू गरेका छन्:अनौठा कपडाहरूको फेसन  गछर्न । उनले घरमा प्रयोग हुने विभिन्न सामग्रीहरूबाट कपडा बनाएर फोटोसुट गर्ने गरेका छन्। उनले फोहोर बोक्ने बोरा, सिमेन्टको खाली बोरा, बबल र्‍याप पर्दा र डस्नाबाट समेत आकर्षक तर अनौठा पहिरनहरू बनाएर पोस्ट गरेका छन्, जसलाई सामाजिक सञ्जालमा निकै रुचाइएको छ।

केही पनि नबेच्ने पसल : उनले एउटा सानो पसल थापेर त्यसको अगाडि बोर्डमा “यहाँ केही पनि बेचिन्न” भनी लेखेका थिए। यो व्यङ्ग्यात्मक स्टन्ट यति भाइरल भयो कि उनलाई सोधपुछ गर्नका लागि मात्रै २१,००० भन्दा बढी ह्वाट्सएप मेसेजहरू आएका थिए।

कपालको चाया व्यापार केन्द्र : उनले मानिसहरूको टाउकोबाट चाया संकलन गर्ने र त्यसको व्यापार गर्ने भन्दै एउटा नक्कली स्टलको तस्बिर पोस्ट गरेका थिए, जसले इन्टरनेटमा ठूलो चर्चा पाएको थियो।

बिना चामलको फ्राइड राइस : उनले आफ्नो एउटा कन्टेन्टमा चामल नै नहालीकन बनाइएको “फ्राइड राइस” बेच्ने नाटक गरेर मानिसहरूलाई अचम्ममा पारेका थिए।

नयाँ वर्षका लागि गर्लफ्रेन्ड भाडामा : उनले नयाँ वर्षको पूर्वसन्ध्यामा एक्ला पुरुषहरूका लागि आफू “भाडाको गर्लफ्रेन्ड ” बन्न तयार रहेको भन्दै एउटा रमाइलो विज्ञापन पोस्ट गरेका थिए।

खोइरुल अनाम इन्डोनेसियाको जाभा टापुको मागेलाङका बासिन्दा हुन्। सामाजिक सञ्जालमा प्रसिद्ध हुनुअघि र अहिले पनि उनी दैनिक करिब ९ घण्टा निर्माण मजदुरी गर्थे । कामपछि राति अबेरसम्म साथीहरूको सहयोगमा उनी यस्ता फोटो र भिडियोहरू तयार गर्छन्।

उनका सिर्जनाहरू इन्डोनेसियामै सीमित नभई रूस, थाइल्याण्डलगायत देशमा पनि फैलिएका छन्। धेरैले उनका सामग्रीलाई हास्य र व्यंग्यको नयाँ शैलीका रूपमा लिने गरेका छन्।

यति ठूलो लोकप्रियता भए पनि आर्थिक रूपमा उनी अझै सामान्य जीवनमै छन्। विशेषज्ञहरूका अनुसार उनका सिर्जनाले मानिसहरूलाई दैनिक तनावबाट केही समयका लागि राहत दिने भूमिका खेल्छ।

उनको अन्तिम लक्ष्य भने आफ्नो आदर्श हास्य कलाकारको सहयोगी बन्नु हो। उनका कथाले देखाउँछ—सामाजिक सञ्जालले साधारण मानिसलाई पनि विश्वव्यापी पहिचान दिन सक्छ, तर त्यो पहिचान सधैं आर्थिक सफलतामा बदलिँदैन।