लमजुङ।
लमजुङको दोर्दीमा क्रियाशिल शान्ति मिलन युवा क्लबले वातावरण संरक्षण तथा सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । क्लबका अध्यक्ष गोविन्द राना मगरको अध्यक्षतामा भएको आम भेलाले दोर्दी खोला र किसेदी खोलाको संरक्षणलाई प्राथमिकतामा राख्दै नयाँ कार्ययोजना अघि सारेको हो ।
नौथर सेरा वरपरका आमा तथा बाबा समुह र युवाहरुको सहभागितामा भएको भेलाले स्थानीय जलस्रोत, प्राकृतिक सम्पदा तथा पर्यावरण संरक्षणका लागि दोर्दी खोला र किसेदी खोलामा हुने फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउने निर्णय गरेको छ । विशेषगरी प्लास्टिकजन्य तथा सिसाजन्य फोहोर जथाभावी फाल्ने कार्य नियन्त्रण गरिने तथा बाहिरबाट आउने व्यक्तिहरुले नदी तथा आसपासका क्षेत्रमा फोहोर गर्ने गतिविधिमाथि निगरानी बढाइने जनाइएको छ ।
निर्णयअनुसार प्लास्टिक, सिसा तथा अन्य कुहिने नकुहिने फोहोरलाई तोकिएको डम्पिङ स्थलमा मात्र व्यवस्थापन गरिनेछ । साथै नदी तथा सार्वजनिक क्षेत्रको सरसफाइलाई निरन्तरता दिन क्लबले प्रत्येक आइतबार नियमित सरसफाइ अभियान सञ्चालन गर्ने जनाएको छ ।
स्थानीय जलचर तथा जैविक विविधताको संरक्षणका लागि दोर्दी र किसेदी खोलामा अवैध रूपमा माछा मार्ने कार्यलाई पूर्ण रुपमा निषेध गरिएको छ । क्लबले विषादी, करेन्ट वा अन्य अवैध माध्यम प्रयोग गरी माछा मार्ने व्यक्तिलाई नगद पाँच हजारसम्म जरिवाना गरिने व्यवस्था गरेको जनाएको छ ।
क्लबका अनुसार पछिल्लो समय नदी क्षेत्रमा बढ्दो फोहोर, जलप्रदूषण तथा प्राकृतिक स्रोतको दोहनका कारण वातावरणीय असर देखिन थालेपछि संरक्षण अभियानलाई कडाइका साथ अगाडि बढाइएको हो ।
“सफा हाम्रो ठाउँ, हाम्रो जिम्मेवारी” भन्ने मूल नारासहित शान्ति मिलन युवा क्लबले दोर्दी क्षेत्रलाई स्वच्छ, हराभरा र पर्यावरणमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ । क्लबले स्थानीयवासी, सरोकारवाला निकाय तथा युवाहरुलाई संरक्षण अभियानमा सक्रिय सहभागिताका लागि समेत आह्वान गरेको छ ।











प्रतिक्रिया