दार्चुला।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत जिल्ला अस्पताल खलङ्गा र दुहुँ गाउँपालिकामा शिविर सञ्चालन गरेको हो।
जिल्ला अस्पताल खलङ्गामा जेठ २९ गते शुक्रबार र दुहुँ गाउँपालिकामा जेठ ३० गते शनिबार आयोजित शिविरबाट कुल ७११ जना लाभान्वित भएका छन्।
शिविरमा जिल्ला अस्पताल खलङ्गामा ३८७ जना र दुहुँ गाउँपालिकामा ३२४ जनाको निःशुल्क आँखा परीक्षण तथा परामर्श गरिएको थियो। साथै आवश्यक औषधि र चश्मा पनि वितरण गरिएको बैंकले जनाएको छ।
गेटा आँखा अस्पताल धनगढीका नेत्र चिकित्सकसहितको टोलीले शिविरमा सेवा प्रदान गरेको थियो। परीक्षण गरिएका मध्ये मोतियाबिन्दुको शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूको निःशुल्क शल्यक्रिया समेत गरिने बैंकले जनाएको छ।
शिविरमा स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैंकले आम नागरिकको विश्वासका कारण हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा दिँदै आएको जनाएको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ गर्दै आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।











प्रतिक्रिया