‘सुरक्षाकोष’मा आबद्ध गराउने पहिलो बन्यो हेटौंडा


हेटौंडा । 

हेटौंडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराएको छ । श्रम तथा  रोजगार मन्त्रालयको ‘आन्तरिक रोजगार प्रवद्र्धन कार्यक्रमः श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम’ अन्तर्गत अनौपचारिक श्रमिकहरुलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गराउने हेटौंडा पहिलो उपमहानगर भएको छ ।

मंगलबार औपचारिक कार्यक्रम गर्दै उपमहानगरपालिकाभित्र रहेर विभिन्न क्षेत्रमा काम गरिरहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई कोषमा आबद्ध गराउँदै परिचयपत्र वितरण गरिएको छ । उपमहानगर क्षेत्रमा ६० श्रमिकहरुलाई उपमहानगरपालिकाको रोजगार सेवाकेन्द्रले कोषमा आबद्ध गराएको हो ।

कोषमा आबद्ध गराउन उपमहानगरले प्रतिश्रमिक १ हजार १ सय ४० र योगदानकार्ताले १ हजार ३ सय ४० रुपियाँ प्रतिमहिना जम्मा गर्नुपर्ने छ । उपमहानगर क्षेत्रमा घरेलु कामदार, कृषिक्षेत्र र निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरु समावेश गरिएको सेवाकेन्द्रले जनाएको छ । कोषमा आबद्ध श्रमिकलाई हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले परिचयपत्र वितरण गर्दै आगामी दिनमा थप श्रमिकहरुलाई जोड्दै जाने बताउनुभयो । कोषमा आबद्ध हुनु भविष्यका लागि राम्रो हुने भएकाले आफूसँगै श्रममा रहेकालाई पनि जोड्न उहाँले सुझाव दिनुभयो ।