काठमाडौं ।
सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नो खुलामुखी म्युचुअल फण्ड योजना ‘सिटिजन्स सदाबहार योजना’ अन्तर्गत अनलाइन दर्ता तथा कारोबार प्रणाली सञ्चालनमा ल्याएको छ। कम्पनीले आजदेखि उक्त डिजिटल सेवा औपचारिक रूपमा सुरु गरेको जनाएको छ।
सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यस योजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धकको रूपमा रहेको छ। कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त यस योजनामा आबद्ध तथा आबद्ध हुन इच्छुक लगानीकर्ताले अब डिजिटल माध्यममार्फत विभिन्न सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
नयाँ प्रणालीमार्फत लगानीकर्ताले योजनाको इकाई खरिदका लागि आवेदन तथा भुक्तानी, व्यवस्थित लगानी योजना (SIP) मा दर्ता, SIP किस्ता भुक्तानी, लाभांश पुनः लगानी योजना (DREP) मा आबद्धता तथा अनलाइन लगइन र लगआउट सुविधा उपयोग गर्न सक्नेछन्।
कम्पनीले यो प्रणालीमार्फत लगानीकर्तालाई चौबीसै घण्टा तथा सातै दिन सेवा उपलब्ध हुने जनाएको छ। यसबाट कार्यालय समय वा भौगोलिक दूरीको सीमाबिना जहाँसुकैबाट योजना सम्बन्धी सेवा लिन सकिने विश्वास गरिएको छ।
सिटिजन्स क्यापिटलका अनुसार डिजिटल वित्तीय सेवाको विस्तार, लगानीकर्ताको पहुँच अभिवृद्धि तथा पूँजी बजारमा सहभागिता बढाउने रणनीतिअनुरूप यो प्रणाली सञ्चालनमा ल्याइएको हो। कम्पनीले आगामी दिनमा पनि प्रविधिमैत्री तथा गुणस्तरीय सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।
कम्पनीले ‘नेपालको प्रत्येक घरमा व्यवस्थित लगानीको पहुँच’ विस्तार गर्ने लक्ष्यसहित व्यवस्थित लगानी योजना (SIP) लाई थप पहुँचयोग्य, पारदर्शी र लगानीकर्तामैत्री बनाउँदै लैजाने जनाएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ। कम्पनीका अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन्।











प्रतिक्रिया