एनआईसी एशिया लघुवित्तको आठौँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा लक्ष्मण चालिसे चयन


काठमाडौं ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ सम्बन्धी विभिन्न प्रस्तावहरू पारित गर्नुका साथै नयाँ सञ्चालक समितिको निर्वाचनसमेत सम्पन्न गरेको छ।

शनिबार सम्पन्न साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अन्य अनुसूचीहरू पारित गरेको छ।

साधारणसभामा प्रचलित कानुन तथा विद्यमान व्यवस्थाअनुसार सञ्चालक निर्वाचन कार्यक्रम सम्पन्न भएको थियो। निर्वाचनबाट संस्थापक समूहतर्फ एनआईसी एशिया बैंक लिमिटेडका प्रतिनिधिका रूपमा लक्ष्मण चालिसे, विभोर कुमार अग्रवाल, दिपेन्द्र शर्मा र पुष्करराज जोशी निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी सर्वसाधारण शेयरधनी समूहबाट बलराम पौडेल र मिलन सिग्देल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन्।

साधारणसभा सम्पन्न भएपछि बसेको नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकले लक्ष्मण चालिसेलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ।

संस्थाले नवनिर्वाचित सञ्चालकहरूको अनुभव र नेतृत्वबाट संस्थाले तय गरेका रणनीतिक लक्ष्यहरू हासिल गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै लघुवित्त क्षेत्रमै अग्रणी, सबल तथा सशक्त संस्थाका रूपमा आफूलाई स्थापित गर्ने दिशामा नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको जनाएको छ।

एनआईसी एशिया लघुवित्तले ग्रामीण तथा विपन्न समुदायमा वित्तीय पहुँच विस्तार गर्दै लघुवित्त सेवा प्रवाह गरिरहेको छ।