काठमाडौं ।
एएमएल तथा आतंकवादी वित्तीयकरण नियन्त्रण (CFT) सम्बन्धी परामर्श सेवामा विशेषज्ञता हासिल गरेको संस्था एएमएल नेपालले कुमारी क्यापिटल लिमिटेडका कर्मचारीहरूका लागि धितोपत्र बजार केन्द्रित एकदिने एएमएल/सीएफटी तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।
तालिमको मुख्य उद्देश्य धितोपत्र बजार, विशेषगरी मर्चेन्ट बैंकिङ व्यवसायमा एएमएल/सीएफटी सम्बन्धी व्यावहारिक ज्ञान, नियामकीय दायित्व तथा अनुपालन क्षमताको अभिवृद्धि गर्नु रहेको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय एएमएल/सीएफटी अवधारणा, नेपालको कानुनी तथा नियामकीय व्यवस्था, धितोपत्र बोर्ड नेपाल (SEBON) का निर्देशनअनुसार बजार मध्यस्थकर्ताहरूको भूमिका तथा जिम्मेवारी, साथै मर्चेन्ट बैंकरहरूको अनुपालनसम्बन्धी व्यावहारिक अपेक्षाबारे विस्तृत प्रस्तुति गरिएको थियो।
तालिमको सहजीकरण एएमएल/सीएफटी क्षेत्रका विज्ञ सुरेन्द्र अधिकारी र लेखा नाथ पोखरेलले गरेका थिए। कार्यक्रममा कुमारी क्यापिटलका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले नेपाली धितोपत्र बजारमा देखिएका वास्तविक अनुपालन चुनौती, जोखिम व्यवस्थापन तथा उत्कृष्ट अभ्यासबारे सक्रिय छलफल गरेका थिए।
कार्यक्रमका क्रममा एएमएल नेपालका प्रतिनिधिहरूले नेपालको पूँजी बजारको पारदर्शिता, विश्वसनीयता तथा वित्तीय अपराध नियन्त्रणका लागि प्रभावकारी एएमएल/सीएफटी अनुपालन अपरिहार्य रहेको बताए। उनीहरूले सुदृढ अनुपालन प्रणालीले वित्तीय क्षेत्रको दीर्घकालीन स्थायित्व र विश्वसनीयता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
एएमएल नेपालले नेपालमा एएमएल/सीएफटी सम्बन्धी परामर्श, तालिम, नीति निर्माण, जोखिम मूल्यांकन तथा निरन्तर अनुपालन सहयोग प्रदान गर्दै आएको छ। संस्थाले बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारका मध्यस्थकर्ता तथा अन्य रिपोर्टिङ संस्थाहरूलाई समग्र एएमएल/सीएफटी समाधान उपलब्ध गराउँदै आएको जनाएको छ।











प्रतिक्रिया