जब बिरामी बालिकालाई क्यान्सर विशेषज्ञ डाक्टरले नै उपचारको लागि नगद सहयोग गरिन्


काठमाडौं ।

खासगरी डाक्टरले बिरामी जाँचे वापत ऊसँग शुल्क लिने गर्छन । तर कुनै डाक्टरले उल्टै बिरामीलाई नगद नै उपचार सहयोग पनि गर्छन् भनेको सुन्दा नि नौलो लाग्छ ।

तर यो कुरा सत्य हो । नेशनल हस्पिटल जावलाखेलकी वरिष्ठ क्यान्सर विशेषज्ञ डा. सुशीला वैद्यले शुक्रवार निजी खर्चबाट मात्रै नभई आफ्ना स्कुले साथीहरूबाट समेत संकलन गरेको ८० हजार ६०० हजार रुपैयाँ रक्त क्यान्सरको उपचार गराइरहेकी एकजना बालिकालाई सहयोग गर्नुभएको छ ।

मदन स्मारक मावि पुल्चोकको भूतपूर्व बिद्यार्थी तथा शिक्षक संघकी अध्यक्ष समेत रहनुभएकी वरिष्ठ क्यान्सर बिशेषज्ञ डा.बैद्यले शुक्रवार सो रकम सिन्धुलीकी १० वर्षीय बिरामी बालिका स्नेहा दर्नालको अभिभावकलाई हस्तान्तरण गर्नुभयो ।

पत्रकार बलराम प्यासीको अनुरोध तथा सो संघकी सचिव एवम समाजसेवी नितु घलेको सक्रियतामा मदन स्मारक माविका अरु पूर्व बिद्यार्थीहरूबाट पनि रकम थपेर ८० हजार ६०० रुपैयाँ संकलन भएको थियो । त्यो रकम ५ दिनमा संकलन भएको हो ।

मदन स्मारक माबि पुल्चोकमा शुक्रबार साँझ आयोजित कार्यक्रममा संघकी अध्यक्ष डा वैद्यले सो रकम हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा संघकी सचिव नितु घले, कोषाध्यक्ष बिना महर्जन, विद्यालयका प्रधानाध्यापक हरि बहादुर एसी, पत्रकार बलराम प्यासी र पूर्व विद्यार्थी जरीना बज्राचार्यको उपस्थिति थियो।

सो विद्यालयका पूर्व बिद्यार्थी बाहेक सुनिता मल्ल गुरुङ, प्रभा डंगोल, दीप जोशी, अञ्जु तिमल्सिना र पुष्पा नेपालले पनि बिरामी बालिकालाई सहयोग गरेका थिए ।

मदन स्मारक मावि भूतपूर्व विद्यार्थी तथा शिक्षक संघले यसअघि पनि सो विद्यालयकी एकजना पूर्व बिद्यार्थीलाई क्यान्सरको उपचारको लागि आर्थिक सहयोग गरेको सचिव नितु घलेले बताउनुभयो।